मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले यसको प्रयोगमा सबै सचेत हुनुपर्ने बताएका छन् ।
जथाभावी एन्टिबायोटिक प्रयोगविरुद्ध जनकपुरधाममा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, आवश्यकताभन्दा बढी प्रयोग गर्ने तथा चिकित्सकले तोकेको अवधिभन्दाअगावै औषधि सेवन गर्न छाड्ने प्रवृत्तिले भविष्यमा औषधिले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने बताए ।
‘एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढ्न सक्छ, त्यसैले सबैले सचेत हुनु जरुरी छ’, उनले भने, ‘एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढ्नसक्छ भने कुरा सर्वसाधारणमा ज्ञान छैन, त्यसैले यसबारे जनचेतना जगाउनु आवश्यक छ ।’
स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिन, आफूखुसी औषधि प्रयोग नगर्न तथा चिकित्सकले तोकेको मात्रा र अवधिअनुसार मात्रै एन्टिबायोटिक सेवन गर्न उनले सबैसँग आग्रह गरे ।
एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न सरकार, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारण सबैको भूमिका महत्त्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री यादवले औषधिको सही प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अभियानमा सहभागी चिकित्सकले भाइरल सङ्क्रमणमा एन्टिबायोटिक प्रभावकारी नहुने भएकाले सामान्य रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिनेबित्तिकै आफूखुसी एन्टिबायोटिक सेवन गर्नु उपयुक्त नहुने सुझाव दिएका छन् । रासस

प्रतिक्रिया