नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा सडकका खाल्डा, सार्वजनिक सेवामा लामो लाइन, मलको अभाव र विदेशिने युवाको लर्कोलगायतका समस्या देखाउँदै नेतृत्व परिवर्तनको माग गरिए पनि अहिले सत्तामा पुगेकाहरूले न्यूनतम कार्यक्षमतासमेत देखाउन नसकेको टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले हिजो चर्को स्वरमा उठाइएका प्रश्नको जवाफ आजको अवस्थाले खोजिरहेको बताएका हुन्।
उनले विगतमा देखाइएका दैनिक समस्या अझै समाधान हुन नसकेको र नागरिकमा भविष्यप्रतिको आशासमेत कमजोर हुँदै गएको दाबी गरेका छन्।
‘हिजो जुन समस्या देखाएर नेतृत्व बदल्न खोजिएको थियो, ती दैनिक समस्या अहिले पनि समाधान भएका छैनन् । भविष्यप्रतिको आशा जोगिन सकेको छैन र भूराजनीतिक असन्तुलन तथा असुरक्षा, साम्प्रदायिक एवं धार्मिक सद्भावमा खलबली तथा चरम निराशा र मानसिक तनाव बढिरहेका छन्,’ पोखरेलले लेखेका छन्।
पोखरेलले विगतमा उठाइएका प्रश्न स्मरण गर्दै अहिलेको अवस्थामाथि प्रश्न गरेका छन्। सडकका खाल्डा पुर्न नसक्नेले ठूला सपना बाँड्ने, सार्वजनिक सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने र विमानस्थलमा विदेशिने युवाको लर्को लागिरहेको अवस्थामा विकासका गफ दिने भन्दै हिजो प्रश्न उठाइएको उनले बताएका छन्।
तर, आज ती दैनिक समस्या समाधान नभएको र नागरिकको भविष्यप्रतिको आशा पनि जोगाउन नसकिएको उनको टिप्पणी छ।
उनले मुलुकमा भूराजनीतिक असन्तुलन र असुरक्षा बढ्दै गएको, साम्प्रदायिक तथा धार्मिक सद्भाव खलबलिँदै गएको तथा चरम निराशा र मानसिक तनाव बढिरहेको उल्लेख गरेका छन्।
पोखरेलले हिजो यिनै समस्या देखाएर नेतृत्व परिवर्तनको हुटहुटी देखाइएको भए पनि सत्तामा पुगेपछि न्यूनतम कार्यक्षमता किन प्रदर्शन हुन सकेन भन्ने प्रश्नसमेत गरेका छन्।
‘अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई छैन,’ उनले लेखेका छन्।
सुधारका लागि चार सुझाव
देशको सुधारका लागि पोखरेलले चारवटा विषयमा जोड दिएका छन्। पहिलो, देश आर्थिक रूपमा सबल नभएसम्म आधारभूत समस्या पूर्ण रूपमा समाधान हुन नसक्ने यथार्थ स्वीकार गर्दै इमानदार पहलकदमी लिनुपर्ने उनको सुझाव छ।
त्यस्तै, दैनिक समस्याको गाँठो फुकाउँदै विकास र समृद्धिका दीर्घकालीन योजना पनि सँगसँगै अघि बढाउनुपर्ने उनले बताएका छन्।
संकटको समयमा एक्लै हिँड्ने हठ त्यागेर सहमति र सहकार्यको राजनीतिमा फर्किनुपर्ने तथा प्रशासनिक र सुरक्षा निकायलाई विश्वासमा लिएर संविधान र कानुनको पालना एवं सुधारमा जोड दिनुपर्ने पोखरेलको धारणा छ।
उनका अनुसार यी विषयलाई व्यवहारमा उतार्न सके सडकबाट सरकार बदल्नुपर्ने अवस्था दोहोरिन नदिने आधार तयार हुन सक्छ।
‘यति गर्न सके सडकबाट सरकार बदल्नुपर्ने नियति दोहोरिने छैन,’ पोखरेलले लेखेका छन्।

प्रतिक्रिया