नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र र बाहिर कुनै पनि किसिमको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन्। लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै उनले लोकतान्त्रिक मूल्य र अधिकारको संरक्षणका लागि कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने बताए।

शुक्रबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस नै निरंकुशताको विरोधमा उभिएको पार्टी भएको बताए।

“हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौँ। कांग्रेस कुनै निरंकुशता स्वीकार गर्ने पार्टी होइन,” उनले भने।

कोइरालाले अहिले प्रजातन्त्र र लोकतन्त्र नै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए। लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रश्न उठ्ने अवस्था आएको उनको भनाइ थियो।

सरकारले प्रेस स्वतन्त्रता, न्यायपालिका र मानव अधिकारको क्षेत्रमा समेत चुनौती सिर्जना गरेको आरोप कोइरालाले लगाए। “अहिले प्रेस स्वतन्त्रतामाथि अँध्यारो बादल छाउन थालेको अवस्था छ। त्यसलाई नेपाली कांग्रेसले मात्रै चिर्न सक्छ,” उनले भने।

सरकारको आदेशका नाममा मानव अधिकार उल्लंघन भइरहेको आरोप लगाउँदै कोइरालाले नागरिकको घरमा प्रहरी प्रशासनले खानतलासी गर्ने क्रमलाई समेत आपत्तिजनक बताए।

“मानव अधिकार अत्यन्त नाजुक अवस्थामा गइरहेको छ। माथिको आदेश भनेर मानिसको घरमा गएर प्रहरी प्रशासनले खानतलासी गरिरहेको छ। यो अवस्थालाई स्वीकार गर्न मिल्दैन,” उनले भने।

कोइरालाले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र प्रभावकारी हुनुपर्नेमा जोड दिए। राजनीतिक तथा पार्टीगत विवादको समाधान न्यायिक प्रक्रियाबाट हुने विश्वास व्यक्त गर्दै उनले सर्वोच्च अदालतबाट न्याय पाउने अपेक्षा राखे।

“हामीले प्रयास पनि गरेको हो। त्यो विफल भयो। सर्वोच्चले न्याय दिन्छ, त्यो न्यायबाट हामी अगाडि बढ्छौँ,” कोइरालाले भने।

कांग्रेसभित्र देखिएको विवाद र विभाजनप्रति समेत उनले चिन्ता व्यक्त गरे। पार्टी अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको भए पनि अन्ततः कांग्रेस एकढिक्का हुनेमा आफू विश्वस्त रहेको उनले बताए।

“नेपाली कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको छ। एकढिक्का हुन्छ भन्ने कुरामा म विश्वस्त छु,” कोइरालाले भने।

उनले लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार र न्यायपालिकाको स्वतन्त्रताको पक्षमा कांग्रेस एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिए।