काठमाडौंको होटल रेडिसनमा १८४ वटा ग्यास सिलिन्डर फेला परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसलाई ‘कालोबजारी र ग्यास लुकाएको’ आरोप लगाउँदै गरेको अनुगमनप्रति होटल संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

होटल संघ नेपालले विज्ञप्ति जारी गर्दै होटलमा रहेको ग्यास मौज्दातलाई कालोबजारी नभई नितान्त व्यावसायिक र सेवा प्रयोजनका लागि भएको बताएको छ। संघका अनुसार दैनिक ठूलो सङ्ख्यामा कर्मचारी तथा पाहुनाहरूलाई सेवा दिनुपर्ने र ठूला कार्यक्रमहरू आयोजना हुने भएकाले अन्य सामान्य व्यवसायको तुलनामा होटलमा ग्यासको खपत स्वाभाविक रूपमा बढी हुन्छ।

संघका अनुसार पाँचतारे होटलहरूमा औद्योगिक किसिमको भान्छा हुने भएकाले नियमित सञ्चालन र खाद्य सुरक्षाका लागि आवश्यक परिमाणमा मौज्दात राखिनुलाई अस्वाभाविक वा कालोबजारीको आशयमा बुझिनु उचित हुँदैन।

यता, कारबाही गर्ने मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि होटलको दाबीलाई समर्थन गर्दै यसलाई सामान्य र नियमित प्रक्रिया भनेको छ। विभागका अनुसार होटलमा १५० देखि २०० वटा सिलिन्डर मौज्दात रहनु स्वाभाविक हो र कुनै पनि व्यावसायिक प्रतिष्ठानले कति सिलिन्डर राख्न पाउने भन्ने कानुनी सीमा सरकारले तोकेको छैन।

यो पनि पढ्नुहोस्

रेडिसन होटलमा भेटियो लुकाएर राखिएको १८४ ग्यास सिलिन्डर

होटलको नाम किटान गरी एकतर्फी रूपमा सञ्चारमाध्यममा प्रचार गर्दा राष्ट्रिय पर्यटन छवि धुमिल हुने खतरा औंल्याउँदै संघले अनुगमनका नाममा त्रास नफैलाउन आग्रह गरेको छ। होटलको प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया नबुझी गरिएका यस्ता निर्णयले सेवा प्रवाहमा कठिनाइ हुने भन्दै संघले सम्बन्धित निकायलाई समन्वयात्मक र तथ्यपरक ढङ्गले अघि बढ्न अनुरोध गरेको छ।

होटलमा रहेको खाना पकाउने ग्यास अनुगमन बारे होटल संघ नेपालको प्रतिक्रिया
काठमाडौंमा रहेको संघको सदस्य ५ तारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनको क्रममा खाना पकाउने ग्यासको सञ्चितिको विषयमा आम सञ्चार माध्यममार्फत सार्वजनिक भएका समाचारप्रति होटल संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त सदस्य होटलमा रहेको खाना पकाउने ग्यास होटलमा रहेको ग्राहक संख्या, बुकिङ संख्या र माग अनुरूप तयार गर्ने खानाको किसिम र परिमाण अनुसारको खाना पकाउन आवश्यक परिमाणमा ग्यास उपलब्ध रहेको हुँदा यस तर्फ कुनै अन्यथा नरहेको जानकारी गराइन्छ।

होटलहरूमा ठुलो संख्यामा कर्मचारी तथा कामदार कार्यरत रहने, दैनिक रूपमा स्वदेशी तथा विदेशी पाहुनाहरूलाई बिहानको खाना, दिवा भोजन तथा रात्रिभोज लगायत विभिन्न प्रकारका खाद्य सेवा उपलब्ध गराउनुपर्ने तथा होटल परिसरमा नियमित रूपमा सभा, सम्मेलन, गोष्ठी, उत्सव, भोजलगायत ठुला कार्यक्रमहरू आयोजना हुने भएकाले अन्य सामान्य व्यवसायको तुलनामा खाना पकाउने प्रयोजनका लागि ग्यासको खपत स्वाभाविक रूपमा बढी हुने हुँदा होटलको नियमित सञ्चालन, पाहुनाको सेवा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक परिमाणमा ग्यास मौज्दात राखिनुलाई मात्र अस्वाभाविक वा कालोबजारीको आशयमा बुझिनु उचित नहुने संघले जनाएको छ।

राज्यको नीति नियमको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा ग्यास लगायतका आधारभूत अत्यावश्यक पदार्थको नियमित आपूर्तिको प्रत्याभूति नभई अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्तरीय सेवा दिन नसकिने यथार्थ हुँदाहुँदै पनि अनुगमनको नाममा सरकारी एकतर्फी अव्यवहारिक निर्देशन हुँदा सेवा प्रवाह गर्न कठिनाइ रहने संघले जनाएको छ।

यसरी देशकै प्रतिष्ठित होटलको नाम नै किटान गरी सञ्चार माध्यममा आउँदा राष्ट्रिय पर्यटन छवि धुमिल हुने खतरा औँल्याउँदै होटल संघ नेपालले सम्बद्ध सरकारी पक्षलाई अनुगमनको नाममा त्रास र अनिश्चय नबढाई दिन निवेदन गरेको छ।

पर्यटन क्षेत्रको निर्बाध सञ्चालन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको परिप्रेक्ष्यमा अन्य सरकारी निकायहरूले नियमसंगत रूपमा गर्ने अनुगमनमा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जानकारी र समन्वय अनिवार्य रूपमा हुनुपर्नेमा जोड दिँदै होटल संघ नेपालले होटल तथा आतिथ्य उद्योगमा गरिने सरकारी अनुगमनमा संघले समेत आफ्नो विशेषज्ञ सेवा निर्बाध उपलब्ध गराउने जनाएको छ।

प्रचलित ऐन, कानुन तथा सरकारी मापदण्डको पूर्ण पालना गर्दै सञ्चालित होटल उद्योगको संवेदनशीलता, यसको अत्यावश्यक सेवाको प्रकृति तथा दैनिक सञ्चालनका व्यावहारिक पक्षलाई समेत ध्यानमा राखी अनुगमन तथा नियमनका कार्यहरू समन्वयात्मक, मर्यादित र तथ्यपरक ढंगले अघि बढाइनु आवश्यक रहेको होटल संघ नेपालले जनाएको छ। अनुगमनका क्रममा देखिएका विषयलाई एकतर्फी रूपमा सञ्चारमाध्यममा प्रस्तुत गर्दा समग्र होटल उद्योग तथा व्यवसायीको प्रतिष्ठामा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत नकारात्मक असर पर्ने अवस्था सिर्जना हुनसक्ने भएकाले यसतर्फ सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउन चाहन्छौँ।

अतः होटल उद्योगसँग सम्बन्धित यस्ता विषयमा अन्तरमन्त्रालय, सम्बन्धित विभाग, सरकारी निकाय तथा सरोकारवाला संघ–संस्थाबिच आवश्यक समन्वय कायम गरी समस्याको दीर्घकालीन तथा व्यावहारिक समाधानका लागि राज्यसँग समन्वय र सहकार्य गर्न होटल संघ नेपाल सदैव तत्पर रहेको पनि संघले जनाएको छ। राज्यलाई संकट पर्दा हर सम्भव समस्या समाधान र सहजिकरणका लागि विगतमा झैं हरपल होटल संघ नेपालको सहयोग रहने पनि जनाइएको छ।

साथै, होटलहरुमा रहेका एलपी ग्यास नाफा आर्जनको लागि विक्री वितरण गर्न वा कालोबजारी गतिविधिलाई प्रशय दिन नभई नितान्त व्यावसायिक र सेवा प्रयोजनका लागि हो भन्ने विषय सरल ढंगमा मनन गरिदिन हुन समेत सम्बन्धित निकायलाई होटल संघ नेपालले अनुरोध गरेको छ।

ठुला अन्तर्राष्ट्रिय ब्रान्डका होटलका भान्सा विशिष्ट उपयोग हुने औद्योगिक किसिमका हुने र यसको सञ्चालन बारे प्राविधिक एवं व्यवस्थापकीय प्रक्रिया बारे जानकारी लिएर गरिने सरकारी अनुगमनको निर्णय एकतर्फी एवं स्वेच्छाचारी नहुने हुँदा यसतर्फ पनि ध्यान पुर्‍याउन होटल संघ नेपालले अनुरोध गरेको छ।