स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा हुने मृत्युसम्बन्धी तथ्यांक अब विद्युतीय सूचना प्रणालीमार्फत अभिलेख राख्ने भएको छ।
मन्त्रालयले ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली कार्यविधि २०८२’ मार्फत यस्तो प्रणाली राख्ने जानकारी दिएको हो। मन्त्रालयले उक्त कार्यविधि शुक्रबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। कार्यविधि अनुसार उक्त प्रणालीले अब अस्पतालमा हुने सबै खालका मृत्युको कारण र अभिलेखसहित स्वास्थ्य सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
उक्त प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको कार्यविधिमा उल्लेख छ। कार्यविधिले मृत्युको प्रारम्भिक, बिच र अन्तिम अवस्थाको कारण खुलाई अभिलेख प्रविष्ट गर्नुपर्नेछ। साथै अस्पतालमा भर्ना भएका, अस्पताल लैजाँदा बाटोमै मृत्यु भएका या मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै मृत्युहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा समावेश गर्नु पर्नेछ।
कार्यविधिले केवल अभिलेख राख्न मात्र नभई ‘रोक्न सकिने मृत्यु’ घटाउन कार्ययोजना बनाउने उद्देश्यपरक पनि रहेको कार्यविधिको आशय उल्लेख गरेको छ। अस्पतालहरूले आफ्नो संस्थामा भएका मृत्युको कारण र तथ्यांकको नियमित विश्लेषण गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार्न, व्यवस्थापन सुदृढ गर्न र रोकथामका उपाय अपनाउन अनिवार्य रूपमा योजना लागू गर्नुपर्नेछ।
कार्यविधिले अप्राकृतिक मृत्यु दुर्घटना या दैवी प्रकोपको कारण हुने मृत्युलाई लिएको छ भने शरीरको जैविक प्रक्रिया रोकिएर हुने या रोग वा संक्रमण रोगको कारण जैविक प्रक्रिया रोकिएको स्थितिलाई प्राकृतिक मृत्युमा समावेश गरेको छ।
अस्पतालमा हुने मृत्युको तथ्यांकलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग अन्तर–आबद्ध गरिनेछ। यसले एकातिर कानुनी प्रक्रिया र पञ्जीकरणलाई पारदर्शी बनाउनेछ भने मृत्यु दर्तामा हुने गडबडीलाई रोक्नेछ।
यस प्रणालीले मृतकलाई प्राप्त हुने ‘युनिक आइडेन्टिफिकेसन नम्बर’ दिनेछ। अस्पतालले मृत्युको कारणसहितको चिकित्सकले जारी गरेको प्रमाणपत्र र यूआइएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआइएनका आधारमा स्थानीय पञ୍जीकाधिकारीको कार्यालय (वडा कार्यालय) मा गएर परिवारले व्यक्तिगत घटना अर्थात् मृत्यु दर्ता गर्न सक्नेछन्।

प्रतिक्रिया