नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र संविधान गम्भीर संकटमा रहेको बताएका छन्। यस्तो अवस्थामा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक व्यवस्था जोगाउन कांग्रेसको आन्तरिक एकता पहिलो सर्त भएको उनले बताए।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले वर्तमान राजनीतिक परिस्थिति निकै संवेदनशील बन्दै गएको भन्दै कांग्रेसभित्र पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको बताए।
खड्काले २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रियतामाथि खतरा देखेर मेलमिलापको नीति लिँदै स्वदेश फर्किएको समयको तुलनामा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गरे।
“अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठूलो खतरा छ। यसलाई जोगाउन कांग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ,” खड्काले भने।
उनले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएका जातीय तथा धार्मिक द्वन्द्व र अस्थिरताका घटनाप्रति चिन्ता व्यक्त गरे। मधेशमा देखिएका पछिल्ला अस्थिरताले देशलाई तरंगित बनाएको उल्लेख गर्दै उनले ती घटनालाई भविष्यमा आउन सक्ने अझ गम्भीर संकटको संकेतका रूपमा लिनुपर्ने बताए।
“अहिले देखिएका घटना एउटा डरलाग्दो भविष्यको ट्रेलर मात्रै हुन सक्छन्। बेलैमा सचेत भएनौँ भने मुलुकले भयावह स्थितिको सामना गर्नुपर्ने हुन सक्छ,” उनले चेतावनी दिए।
खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई सन्तुलित र गम्भीर ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। राष्ट्रियता र संविधानको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य र लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको उनको भनाइ थियो।
“यदि हामी एकताबद्ध भएर छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई गम्भीरतापूर्वक अगाडि बढाउन सकेनौँ भने देशले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ,” खड्काले भने।

प्रतिक्रिया