मोदी खोलामा विहीबार मध्यरातमा आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा ब्यापक क्षति पु¥याएको छ। बाढीले अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीको बजार जोखिममा पारेको छ। मोदीको कटानले मन्दिर र सडक बगाएको छ। कटानको जोखिममा परेका घरका बासिन्दा बिस्थापित भएका छन्।
मोदीको कटानले वीरेठाँटीको कटानसँगै अन्नपूर्ण क्षेत्रको पर्यटकीय क्षेत्रसँगको सम्पर्कबिच्छेद नै गराएको छ। अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको सडक सम्पर्क बिच्छेद भएको स्थानीयले बताएका छन्।
गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाटो कटान भएसँगै वीरेठाँटी–घान्द्रुक सडक पुरै बिच्छेद भएको छ। यो सडक हुँदै एबिसीसम्मको पदयात्रा हुुन्छ। अन्नपूर्ण गाउँपालिकाका ८,९, १० र ११ वटा वडासँगको यातायात सञ्जाल सम्पर्क टुटेको छ। नदीको कटानले वीरेठाँटीको सिंगो बस्ती नै जोखिममा पारेको उनले बताए। उनका अनुसार खोलाको वहावले बस्तीतिरको क्षेत्र कटान गर्दैजाँदा घरहरु जोखिममा परेका छन।
‘मोदीमाथि ७ र ८ नम्बर वडालाई जोडनेगरि पुल छ। वारिपट्टि (७ नम्बर) कडा चट्टान भएकोले कटान गर्न सकेन। तर, पारिपट्टि (८ नम्बर) कमजोर संरचना भएकोले कटान भयो। त्यसले गर्दा वीरेठाँटीमा मात्र एकसय मिटर सडकखण्ड पूर्ण रुपमा खोलामा बगेको छ,’ उनले भने, ‘कडा चट्टानले छेकेकोले वारिको बस्ती सुरक्षित बन्यो। तर पारिको बस्ती भने जोखिममा परेको छ।’ उनका अनुसार अहिले कटानको जोखिममा रहेका तीनवटा घरका बासिन्दा आफन्तकहाँ गएर बसेका छन्। अरु घरका बासिन्दा अहिले घरमै रहेपनि जोखिममा रहेको उनले बताए।
‘केहीगरि खोलामा वहाव बढ्यो भने थप कटान हुनसक्छ। त्यस्तो हुँदा खोलाले भित्रभित्र खोल्दै जाँदा वीरेठाँटीको बस्ती थप जोखिममा पर्न सक्छ। त्यसो हुँदा कम्तिमा १५ घर जोखिममा पर्न सक्छन,’ उनले भने, ‘पाँगो माटो भएकोले कटानको जोखिम बढि रहेकोले पारिपट्टिको बस्ती बढि जोखिममा रहेको छ।’
उनका अनुसार अहिले वीरेठाँटी–घान्द्रुक सडकको तीनठाउँमा पहिरोले सडक क्षति गरेको छ। सबैभन्दा बढि कटान वीरेठाँटी, चीमरोङ र स्याउलीबजारमा भएको छ। तीनठाउँमा गरेर झन्डै आधाकिलोमिटर सडक मोदीमा मिसिएको उनले बताए।
खोलाको वहाव बढेको र कटान भएकोले तत्काल सडक खुलाउन सकिने अवस्था नरहेको उनले बताए। उनका अनुसार अबको कम्तिमा तीनमहिना वीरेठाँटी–घान्द्रुक सडक बन्द हुने हुनेछ। त्यसले अन्नपूर्णका चारवटा वडाका बासिन्दा र अन्नपूर्ण आधारशिविरसम्मको पर्यटकीय क्षेत्र प्रभावित हुनेछ। ‘यसै त खोलामा वहाव बढेकाले अहिले डाइभर्सन बनाउनका लागि गहै उपकरण पारिसम्म लैजान सकिने अवस्था छैन। त्यस्तै उपकरण लगेपनि डाईभर्सन बनाउने ठाउँसम्म पनि छैन,’ उनले भने, ‘भित्तैसम्म कटान छ। तल खन्ने ठाउँ छैन। खन्ने हो भने घर नै जोखिममा पर्छन।’
वर्षायाम सकिएपछि वहाव घटेको बेला पारेर बल्ल संरचना बनाएर सवारी संचालनका लागि सडक तयार हुने अवस्था रहेको उनले बताए। त्यसका लागि वर्षायाम सकिएर खोलामा वहाव घट्नुपर्ने उनले बताए। ‘स्थानीय तहले मात्र त्यो काम पुरा गर्न सक्ने अवस्था छैन। अहिले मान्छे पुरानो बाटो हिडेर आउजाउ गर्न सक्ने भएपनि सवारी संचालनका लागि लामो समय लाग्नेछ,’ उनले भने, ‘मोदी पारिको बस्तीसँग सडक सञ्जालको सम्पर्क पूर्णरुपमा टुटेको छ।’
अन्नपूर्ण–७ का अध्यक्ष समेत रहेका उनका अनुसार छोमरोङ खोलामा पहिरो झरेको र त्यहि पहिरो मोदीमा मिसिएपछि विहीबार मध्यरात मोदीको वहाव एकाएक बढेको थियो। यसैपनि वर्षाका कारण खोलाको वहाव बढेको र त्यसैमा लेदोसहितको पहिरो थपिएपछि मोदीको वहाव झनै बढेको थियो। ‘मध्यरात नै भागाभाग भयो। रातभर स्थानीय त्रासमा बसेका छन,’ उनले भने। उनक अनुसार यतिबेला अफसिजन परेकोले घान्द्रुक क्षेत्रमा विदेशी पर्यटक नभएपनि पदयात्रा समेत जोखिममा परेको छ। वर्षायामको यो समयमा दुइपटकसम्म गरेर वीरेठाँटी–घान्द्रुक सडक क्षतविक्षत पारेको पनि उनले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका प्रमुख याम गुरुङका अनुसार मोदीको कटानले बस्ती जोखिममा पारेको छ भने सडक कटान हुँदा यातायात अवरुद्ध भएको छ। तत्काल यातायात खुल्ने सम्भावना नरहेको उनले बताए। पर्यटकीय क्षेत्र भएपनि यो बेला अफसिजन परेकोले पर्यटक नभएपनि हिडडुल सहज नभएको उनले बताए। ‘सबैभन्दा बढि जोखिम नै वीरेठाँटीमा छ। वीरेठाटीमा त बाटो नै छैन। पुरानो बाटो भएर हिडडुल गर्न मिल्छ, तर, पदयात्रामा जोखिम छ। बाटो नै बन्द छ,’ उनले भने।
प्रहरीले मोदीको बीचमा रहेको मन्दिरमा रहेका तीनजना व्यक्तिलाई शुक्रबार बिहान सुरक्षित उद्धार गरेको छ। सशस्त्र प्रहरीको कालिका गणका अनुसार बाढिले मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा आवतजावत गर्ने (पर्वत र कास्कीतर्फ) दुईवटा मेटल पुल सहित मन्दिरको आदि भाग बगाएको छ। मन्दिरमा एकजना सन्त पुजारी र दुईजना भक्तजन गरी राती तीनजना थिए। उनीहरु बाढिमा फँसेका थिए।
उनीहरु बाढीमा फसेको थाहा पाएलगत्तै गणबाट गएको १३ जनाको रोप रेस्क्यु तथा गोताखोर सहितको टोलीले उनीहरुको उद्धार गरेको थियो। बाढिको मारमा फँसेका उनीहरुलाई रोप रेस्क्यूद्वारा उद्धार गरिएको गणले बताएको छ। प्रहरीका अनुसार पोखरा–१८ बस्ने २८ वर्षिय प्रदिप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपुर्ण–८ को विद्यालयका शिक्षक ३० वर्षिय रेवन्तप्रसाद सिंह, तथा मन्दिरको पुजारी ५२ वर्षिय निर्माण गिरी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया