थाइल्यान्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको एयरबस ए-३२० नियो विमान उडानकै क्रममा गम्भीर प्राविधिक संकटमा परेको खुलेको छ।
ब्ल्याक बक्सको प्रारम्भिक अध्ययनबाट फुकेटबाट नयाँ दिल्ली उडेको उक्त विमान ३०० फिट तल खस्दा चार सेकेन्डसम्म पूर्ण रूपमा नियन्त्रण बाहिर गएको देखिएको छ। ती चार सेकेन्डको अवधिमा विमानका पखेटा र पुच्छरका मुख्य भागहरूले पाइलटको कुनै पनि आदेश मानेनन्।
यस्तो खतरनाक समस्या यसअघि विरलै मात्र देखिएको थियो। विमानलाई उचाइ लिन, मोड्न वा गति घटाउन मद्दत गर्ने हाइड्रोलिक प्रणालीले काम छाडेका कारण यस्तो भएको हो।
एनडिटिभीका अनुसार त्यहीबेला विमानको अटोपाइलट प्रणाली आफैँ बन्द भयो र ककपिटमा खतराको चेतावनी बज्यो। विमान खस्न लाग्दा सह-पाइलटले नियन्त्रणमा लिन खोजे पनि हाइड्रोलिक प्रणालीले काम नगरेकाले उनको प्रयास सुरुमा सफल भएन।
केही सेकेन्डपछि हाइड्रोलिक प्रणाली चल्न थालेपछि विमान झट्काका साथ एक्कासि तल झर्यो, जसका कारण चालक दलका केही सदस्य र यात्रुहरू उछिट्टिएर छतमा ठोक्किएर घाइते भए।
घटनाको विस्तृत अनुसन्धान गर्न उक्त विमानको डाटा फ्रान्सस्थित एयरबसको कार्यालयमा पठाइएको थियो। फ्रान्स र भारतका विशेषज्ञहरूले नयाँ दिल्ली पुगेर विमानको प्राविधिक जाँच गरेका छन्।
प्रारम्भिक रिपोर्टमा हाइड्रोलिक स्विचमा केही समस्या देखिए पनि मुख्य कारण अझै खुलेको छैन। यो अनुसन्धानको प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान विभागलाई बुझाइएको छ।
यसैबिच, विमान उडाएका क्याप्टेन सुदीप वशिष्ठको आचरणलाई लिएर पनि प्रश्न उठेको छ। अवतरणपछि उनको पिसाब परीक्षण गर्दा शरीरमा गाँजाको अंश भेटिएको थियो। उडानकै क्रममा पाइलटले लागुऔषध सेवन गरेको भन्दै चालक दलका एक सदस्यले उजुरीसमेत दिएका छन्।
यो घटना बाहिरिएसँगै एयर इन्डियाले कडा कदम चाल्दै आफ्ना सबै पाइलटहरूलाई लागुऔषध सेवन नगरेको पुष्टि गर्न अनिवार्य परीक्षण गराउन निर्देशन दिएको छ।

प्रतिक्रिया