(सुमन थापा )
जेष्ठ ८, काठमाडौं – मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपति बिद्यादेवि भण्डारीले प्रतिनिधिसभा भंग गर्दै कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यराती बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संविधानको धारा ७६ को ४ बमोजिम प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिइ मार्ग प्रशस्त गर्ने विहिवारको घोषणासंगै सम्माननीय राष्ट्रपतिले संविधानको धारा ७६ को (५) बमोजिम नयाँ सरकार गठन गर्न २१ घण्टाको समय दिएर प्रतिनिधिसभाका सांसद सदस्यलाइ सरकारको नेतृत्व दावी पेश गर्न निर्देशन भएको थियो ।
राष्ट्रपतिले दिएको समय सिमा भित्र प्रतिनिधिसभाका माननीय सदस्य केपी शर्मा ओलीले एमालेका १२१ तथा जसपाका ३२ सहित १५३ जना सांसद सदस्यहरुको समर्थन रहेको दावी गरेका छन् भने अर्का दावी कर्ता माननीय शेरबहादुर देउवाले नेपाली कांग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टी नेपालको १२, एमालेबाट २६ र जनमोर्चाको १ गरी १४९ जना सदस्यहरुको हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा पेश गराएका थिए ।
तर दावीकर्ता दुबै माननीय सदस्यहरुको समर्थनकर्ता भनिएका सदस्यहरु एक अर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कोलाइ समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) आकर्षित हुनसक्ने, राजनैतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ६ का विषयहरु समेतलाइ ध्यान दिदै दावीकर्ता दुबै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने ठोस आधार नदेखिएको र त्यसैकै आधारमा प्रधानमन्त्री पदमा नियुक्त गर्न नमिल्ने भनि राष्ट्रपति कार्यालयबाट जारी पहिलो विज्ञप्तिमा उल्लेख छ।
सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्मानीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो र दोस्रो निर्वाचन सोही मितिमा सम्पन्न गर्ने गरी मिति तोक्नु भन्ने राष्ट्रपति कार्यालयबाट जारी पछिल्लो विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया