चितवनमा पछिल्ला वर्षहरूमा घट्दै गएको रैथाने बाली कोदो खेतीलाई पुनर्जीवित गर्ने अभियान सुरु भएको छ। भरतपुर–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाको सक्रियतापछि स्थानीय महिलाहरू पुनः कोदो खेतीतर्फ आकर्षित हुन थालेका छन्। सहकारीको सामूहिक अभियानसँगै व्यक्तिगत रूपमा पनि कोदो रोप्ने किसानको संख्या बढ्न थालेको छ।
भरतपुर–८ धारेचोककी तेजकुमारी कँडेलले तीन दशकअघि मकैसँगै कोदो रोपेर पाँच मूरीसम्म उत्पादन गरेको अनुभव सुनाइन्। पछिल्ला केही वर्ष कोदो खेती छाडेकी उनले अहिले यसको पोषण र आर्थिक महत्व बुझेर समूहमार्फत पुनः खेती सुरु गरेकी छन्।
‘विगतमा कोदो रोपेर थाकेकी हुँ। मकैभित्र रोपेर पनि पाँच मूरीसम्म फलाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त किनेर खानुपर्ने अवस्था आएको छ।’
भरतपुरकी पूजा भूसालको अनुभव पनि यस्तै छ। पर्वतमा रहँदा घरमा ३० मूरीसम्म कोदो उत्पादन हुने गरेको स्मरण गर्दै उनले चितवन आएपछि खेती रोकिएको बताइन्। यस वर्ष भने उनले डेढ कठ्ठा जमिनमा कोदो रोप्ने तयारी गरेकी छन्।
‘पहाडमा आमाबुवासँग कोदो रोप्न जान्थ्यौँ। हाम्रो घरमा कुनै दिन ६० जनासम्म खेताला हुन्थे,’ उनले भनिन्, ‘३० मूरीसम्म कोदो फल्थ्यो। अहिले भने खानकै लागि अरूलाई रोप्न दिएका छौँ।’
पहाडबाट बसाइँसराइसँगै घट्यो कोदो खेती
चितवनमा पहाडबाट बसाइँसराइ गरी आएका धेरै परिवारले कोदोभन्दा अन्य नगदे तथा खाद्यान्न बालीलाई प्राथमिकता दिन थालेपछि कोदो खेती क्रमशः घट्दै गएको छ। तर त्रिपुरेश्वर कृषि सहकारीको अभियानले यसमा परिवर्तन ल्याउन थालेको देखिएको छ।
भरतपुर–९ की कोपिला दुराले सहकारीमा आबद्ध भएपछि आफूले छाडेको कोदो खेती फेरि सुरु गरेको बताइन्।
‘लम्जुङमा जन्मिएकी हुँ। त्यहाँ सधैँ कोदो रोप्थ्यौँ,’ उनले भनिन्, ‘चितवन झरेपछि चार वर्ष कोदो रोपिएन। केही वर्षयता फेरि खेती गर्न थालेकी छु।’
वडा सदस्यसमेत रहेकी दुराका अनुसार मगर समुदायमा विभिन्न चाडपर्वमा मदिराको प्रयोग हुने भएकाले पनि कोदोको महत्व छ।
‘जनजाति भएका नाताले पनि हामीलाई रक्सी चाहिन्छ,’ उनले भनिन्, ‘यस वर्ष दुई कठ्ठा क्षेत्रफलमा कोदो रोप्दैछु।’
सहकारीको अभियानबाट बढ्दै किसानको आकर्षण
त्रिपुरेश्वर कृषि सहकारी संस्थाले विगत छ वर्षदेखि हराउँदै गएको रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक रूपमा कोदो खेती गर्दै आएको छ।
संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाका अनुसार सहकारीको अभियानपछि सदस्य महिलाहरू व्यक्तिगत रूपमा पनि कोदो खेतीतर्फ आकर्षित भएका छन्।
‘हामीले हराउँदै गएको कोदोको प्रवर्द्धन गर्न विगत छ वर्षदेखि सामूहिक रूपमा खेती गर्दै आएका छौँ,’ उनले भने, ‘सहकारीले अभियान सुरु गरेपछि महिला दिदीबहिनीले व्यक्तिगत रूपमा पनि कोदो रोप्न थालेका छन्।’
सहकारीले बाँझो जमिनमा कोदो खेती गर्न इच्छुक किसानलाई निःशुल्क बीउ उपलब्ध गराउँदै आएको पनि उनले जानकारी दिए।
‘हाम्रा सदस्यलाई कोदोप्रति आकर्षित गर्दै आएका छौँ। खाली जमिनमा खेती गर्न चाहनेका लागि बीउसमेत उत्पादन गरेका छौँ,’ उनले भने।
यस वर्ष सहकारीले १३ कठ्ठा क्षेत्रफलमा सामूहिक रूपमा कोदो रोप्दैछ। भरतपुर–८ र ९ क्षेत्रमा करिब १० बिघा जमिनमा कोदो खेती हुने उनले बताए।
सहकारीले उत्पादन भएको कोदोको पिठो पनि बजारमा बिक्री गर्दै आएको छ। उनका अनुसार पछिल्ला वर्षहरूमा कोदोको माग बढे पनि उत्पादन घट्दो क्रममा छ।
‘हामी सहकारीमार्फत महिनामा १० क्विन्टलसम्म कोदोको पिठो बिक्री गर्दै आएका छौँ,’ उनले भने।

रैथाने बीउ संरक्षणमा पनि सफलता
सहकारीले चार वर्षअघि काभ्रेबाट एक किलो रैथाने कोदोको बीउ ल्याएर परीक्षण खेती गरेको थियो। त्यसबाट ४१ किलो बीउ उत्पादन भएको थियो। यस वर्ष त्यसमध्ये २२ किलो बीउ सदस्यहरूलाई वितरण गरिएको छ भने अहिले सहकारीले आफ्नै बीउ उत्पादन र संरक्षणसमेत गर्न थालेको छ।
भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलका अनुसार कोदो पोषणयुक्त बाली मात्र नभई कम उर्वर र रुखो जमिनमा पनि सहजै उत्पादन गर्न सकिने बाली हो।
‘कोदो रुखो जमिनमा पनि हुन्छ,’ उनले भने, ‘यसले माटोको बढी अम्लीयपनसमेत सहन सक्छ।’
उनका अनुसार ८.५ पीएचसम्मको अम्लीय माटोमा पनि कोदो उत्पादन गर्न सकिन्छ। यसले बढी पानी र सुख्खा दुवै अवस्था सहन सक्छ भने रोगको प्रकोप पनि तुलनात्मक रूपमा कम लाग्छ।
उत्पादनमा चितवन राष्ट्रिय औसतभन्दा अगाडि
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार अन्य बालीको तुलनामा कम लगानी र कम मेहनतमै उत्पादन गर्न सकिने भएकाले कोदो किसानका लागि लाभदायक बाली हो।
‘राष्ट्रिय उत्पादकत्वभन्दा चितवनमा कोदोको उत्पादकत्व बढी छ,’ उनले भने, ‘चितवनमा प्रतिहेक्टर १.४५ मेट्रिक टन उत्पादन हुन्छ भने राष्ट्रिय उत्पादकत्व १.३ मेट्रिक टन मात्रै छ।’
गत वर्ष चितवनमा ७३९ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो। त्यसमध्ये इच्छाकामना गाउँपालिकामा करिब ६०० हेक्टर, कालिका नगरपालिकामा १७३ हेक्टर र भरतपुर महानगरपालिकामा ९८ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो। जिल्लामा कुल एक हजार ८९ मेट्रिक टन कोदो उत्पादन भएको उनले जानकारी दिए।
वडाको पनि संरक्षण अभियान
भरतपुर महानगरपालिका–९ का वडा अध्यक्ष जीवलाल कँडेलले रैथाने बाली संरक्षणका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए। महानगरपालिकाले सञ्चालन गरिरहेको संरक्षण अभियानलाई वडा तहबाट थप प्रभावकारी बनाइने उनको भनाइ छ।
हाल बजारमा कोदोको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्याग्निज, भिटामिन–बी, ट्रिप्टोफेन, फाइबर तथा एन्टिअक्सिडेन्टलगायत महत्वपूर्ण पोषक तत्व पाइने भएकाले यसको माग निरन्तर बढ्दै गएको छ।

प्रतिक्रिया