अनाथ तथा विपन्न बालबालिकाको प्रतिभा विकास तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार राजधानीमा डिलाइट–२०२६ सातौँ परोपकारी सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

डिलाइट नेपालको आयोजनामा भएको कार्यक्रममा सात वटा अनाथालयमा संगीत शिक्षा लिइरहेका बालबालिकाले वर्षौँको अभ्यासबाट सिकेको गायन तथा वादन कला प्रस्तुत गरेका थिए। कार्यक्रममार्फत बालबालिकालाई व्यावसायिक मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

ताइवानस्थित जुजु मामा बाल शिक्षा तथा स्याहार संघको सहयोगमा सञ्चालित अभियानले विगत १३ वर्षदेखि नेपालका अनाथ तथा विपन्न बालबालिकालाई निःशुल्क संगीत शिक्षा प्रदान गर्दै आएको छ। हाल सात वटा अनाथालयमा संगीत शिक्षक, वाद्ययन्त्र, शैक्षिक सामग्री र प्रशिक्षण व्यवस्थापन गर्दै आएको संस्थाले जनाएको छ।

संस्थाकी संस्थापक तथा कार्यकारी निर्देशक ज्वेल चियाङले नेपाली मौलिक संगीत संरक्षणसँगै बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु अभियानको मुख्य उद्देश्य भएको बताइन्। संस्थाले आगामी दिनमा विद्यालयस्तरमा सारङ्गी शिक्षा विस्तार, सारङ्गी समूह गठन तथा राष्ट्रियस्तरको सारङ्गी प्रतियोगिता आयोजना गर्ने योजना पनि सार्वजनिक गरेको छ।