पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीसँगको भेटलाई स्मरण गरेका छन्।

सामाजिक सञ्जालमा मन्त्री लम्सालले लेखेका छन्, ‘निम्सदाइ, हजुर पाकिस्तान जानुअघि मेरो कार्यकक्षमा आउनुभएको थियो। त्यतिबेला हजुरले भन्नुभएको थियो, ‘नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउ। नेपालमा साहसिक खेलकुद पर्यटन तथा पर्वतीय पर्यटनको विषयमा’ अपार सम्भावना छ र सम्भावनाबारे विस्तारमा बताउनुभएको थियो।’

मन्त्री लम्सालले थप भन्नुभयो, ‘हजुरले सगरमाथा क्षेत्रमा अफ-सिजनमा हेलिकोप्टरमार्फत पुग्नसमेत कठिन हुने अवस्था रहेको उल्लेख गर्दै पर्यटक वर्षभरि नै सुरक्षित रूपमा पुग्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो। साथै, काठमाडौंलाई सगरमाथासँग जोड्ने सुरक्षित सडक निर्माण गर्नुपर्ने हजुरको स्पष्ट दृष्टिकोण थियो।’

‘हजुरले देख्नुभएको त्यही दूरदर्शी सोचलाई आत्मसात् गर्दै नेपाल सरकार काठमाडौं-सगरमाथा जोड्ने सुरक्षित सडक निर्माणको दिशामा समेत अघि बढ्नेछ। हजुरले देखाउनुभएको समृद्ध, सहज र विश्वस्तरीय पर्यटन गन्तव्य बनाउने सपना साकार पार्न हामी प्रतिबद्ध छौं,’ मन्त्री लम्सालले थप भने, ‘आज हजुर शारीरिक रूपमा हामीबीच नहुनु भए पनि, हजुरले देख्नुभएको र देखाउनुभएको सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न निरन्तर काम करिरहेको छ। हजुरको सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता सधै रहनेछ। अलविदा दाइ। हार्दिक श्रद्धाञ्जली।’

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ। आज मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो।

सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा ‘निम्सदाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ ‘युक्त’, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्।

त्यसैगरी, विदेशी आरोहीहरूमा सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान) र म्यालोरी गेइस (अमेरिका) रहेका छन्। सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आएका थिए। हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो।