रौतहट, साउन १६
सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको छ।
सिरहाको औरही गाउँपालिका–२ तुलसियाही स्थित निवासमा साँझ ६:२५ बजे प्रशासनले हेलिकप्टर मार्फत उनको शव ल्याइएपछि परिवारजन र स्थानीयवासी भावविह्वल बनेका थिए ।

हिन्दू परम्पराअनुसार आवश्यक धार्मिक विधि पूरा गरी आजै गागन खोलाको किनारमा गणेशको अन्त्येष्टि गरिने तयारी गरिएको छ । यसैबीच सरकार र मृतक परिवारबीच विभिन्न विषयमा सहमति भएको छ। सहमतिअनुसार गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गरिने तथा मृतक गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गरिने उल्लेख छ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।
सरकार र परिवारबीच भएको सहमतिसँगै घटनापछि उत्पन्न तनाव साम्य पार्ने प्रयास भएको भए पनि स्थानीयवासीले निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग दोहोर्याएका छन्।


प्रतिक्रिया