विश्व पर्वतारोहण क्षेत्रमा नेपालको गौरवलाई नयाँ उचाइमा पुर्‍याएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) अब रहेनन्।

पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी उनको निधन भएको हो। उनीद्वारा स्थापित आरोहण कम्पनी इलिट एक्सपेड ले शनिबार आधिकारिक विज्ञप्तिमार्फत दुःखद समाचारको पुष्टि गरेको हो।

कम्पनीका अनुसार गत बिहीबार ब्रोड पिक आरोहणका क्रममा आएको शक्तिशाली हिमपहिरोले पुर्जाको नेतृत्वमा रहेको टोलीलाई चपेटामा पारेको थियो। उक्त दुर्घटनामा उनका सहयात्री तथा अनुभवी पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा को पनि निधन भएको पुष्टि गरिएको छ।

कम्पनीले जारी गरेको शोक वक्तव्यमा निर्मल पुर्जाको निधनलाई विश्व पर्वतारोहण समुदायका लागि अपूरणीय क्षति भएको उल्लेख गरेको छ। वक्तव्यमा उनको अदम्य साहस, असाधारण नेतृत्व क्षमता र ‘Nothing Is Impossible’ भन्ने जीवनदर्शनले विश्वभरका लाखौं मानिसलाई प्रेरित गरेको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, परिवारको गोपनीयताको सम्मान गर्न सबैमा अनुरोध गरिएको छ।

ब्रिटिस सेनादेखि विश्व पर्वतारोहणको शिखरसम्मको अद्भुत यात्रा

म्याग्दीको दाना गाउँमा जन्मिएका पुर्जा चार वर्षको उमेरमै परिवारसँगै चितवन बसाइँ सरेका थिए। सन् २००३ मा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका उनी पछि ब्रिटिस सेनाको प्रतिष्ठित स्पेशल बोट सर्भिस (एसबीएस) मा प्रवेश गर्ने पहिलो नेपाली बने। अफगानिस्तानलगायतका उच्च जोखिमयुक्त सैन्य अभियानमा सेवा गरेपछि उनले सन् २०१८ मा सैनिक जीवनबाट अवकाश लिएर पूर्णकालीन पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाए।

६ महिना ६ दिनमै १४ हिमाल, विश्व चकित पार्ने कीर्तिमान

सन् २०१९ मा उनले ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल केवल ६ महिना ६ दिन मा आरोहण गरेर इतिहास रचे। दशकौँसम्म असम्भव मानिएको यो उपलब्धिले विश्व पर्वतारोहणको परिभाषा नै बदलिदियो।

उनको यही अद्भुत यात्रालाई आधार बनाएर बनेको नेटफ्लिक्सको चर्चित वृत्तचित्र 14 Peaks: Nothing Is Impossible ले उनलाई अन्तर्राष्ट्रिय स्तरमा थप लोकप्रिय बनायो र नेपाली पर्वतारोहणको प्रतिष्ठा विश्वभर फैलायो।

सन् २०२१ मा पुर्जाले नेपाली आरोहीहरूको टोलीको नेतृत्व गर्दै पाकिस्तानको के–टु हिमालको पहिलो सफल हिउँदे आरोहण सम्पन्न गराएका थिए। लामो समयसम्म असम्भव मानिएको यो उपलब्धिले नेपाली पर्वतारोहण इतिहासमा स्वर्णिम अध्याय थपेको थियो।

निर्मल पुर्जाको लक्ष्य केवल व्यक्तिगत कीर्तिमान कायम गर्नु थिएन। उनले नेपाली शेर्पा तथा पर्वतारोहीहरूको नेतृत्व क्षमता, व्यावसायिक दक्षता र विश्वसनीयता लाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा स्थापित गर्न अथक प्रयास गरे। आफ्नै कम्पनी इलिट एक्सपेड मार्फत उनले नेपाली पर्वतारोहण व्यवसायलाई विश्वस्तरमा नयाँ उचाइ दिलाउन महत्वपूर्ण योगदान पुर्‍याए।

खराब मौसमले उद्धारमा चुनौती

ब्रोड पिकमा हिमपहिरो गएपछि खराब मौसमका कारण खोज तथा उद्धार कार्य निकै कठिन बनेको थियो। ड्रोन सर्वेक्षण र स्थल पहिचानपछि कम्पनीले शनिबार निर्मल पुर्जा तथा अन्य दुई नेपाली आरोहीको निधन भएको औपचारिक पुष्टि गरेको हो।

निर्मल पुर्जाको निधनसँगै नेपालले केवल एक सफल पर्वतारोही मात्र गुमाएको छैन, विश्वलाई ‘असम्भव केही छैन’ भन्ने विश्वास दिलाउने प्रेरणादायी व्यक्तित्व गुमाएको छ। उनका कीर्तिमान भविष्यमा कसैले तोड्न सक्ला, तर नेपाली पर्वतारोहणको क्षमता, नेतृत्व र पहिचानलाई विश्वमञ्चमा स्थापित गराउने उनको योगदान सधैं इतिहासमा स्वर्णाक्षरले लेखिनेछ।