प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका २ ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादको विषयमा झैझगडा गरेका भन्दै प्रहरीले निजलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका १६ इनरुवागाउँ बस्ने १८ वर्षका रञ्जित यादवलाई हातपात गरी निज यादवको ओठ तथा नाकमा चोट लागि घाइते बनाएकाले अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको हो। यादवको प्रभु अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सामाजिक सद्भाव बिथोल्ने किसिमका समाचार सम्प्रेषण भइरहेकाबारे गम्भीर ध्यानाकर्षण भएको पनि प्रहरीले जनाएको छ।