पूर्वी र मध्य तराईका जिल्लामा पछिल्लो समय देखिएका हिंसात्मक घटनाको प्रभाव लुम्बिनी प्रदेशमा पर्न नदिन प्रदेश सुरक्षा परिषद्ले सुरक्षा सतर्कता थप कडा बनाउने निर्णय गरेको छ।

शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको लुम्बिनी प्रदेश सुरक्षा परिषद्को भर्चुअल बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैठकले धार्मिक, सामाजिक तथा जातीय सद्भावमा असर पर्ने गतिविधिप्रति विशेष निगरानी बढाउने निर्णय गर्दै प्रदेशभर सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउने निष्कर्ष निकालेको छ।

साथै सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र आपसी एकता कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा जातीय समुदाय, नागरिक अगुवा, धर्मगुरु, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

बैठकले संवेदनशील क्षेत्रहरूमा स्थानीय तह र जिल्ला प्रशासनसँग समन्वय गरी संवाद, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकार र सुरक्षा निकायबीच छिटो सूचना आदान–प्रदानका लागि प्रादेशिक एकीकृत सूचना सञ्जाल निर्माण गर्ने निर्णय पनि गरेको छ।

यसैगरी टिकटक, फेसबुक, युट्युब, ह्वाट्सएप र टेलिग्रामलगायत सामाजिक सञ्जालमार्फत सामाजिक, धार्मिक वा जातीय सद्भाव भड्काउने, अफवाह फैलाउने तथा भ्रामक सामग्री प्रसारण नगर्न आम समुदायलाई आग्रह गर्दै आधिकारिक र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

बैठकले सक्रिय मनसुनका कारण उत्पन्न हुन सक्ने विपद् जोखिमलाई समेत उच्च प्राथमिकतामा राख्दै उच्च जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने, जोखिमसम्बन्धी सूचना सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रणालीमार्फत समुदायसम्म समयमै सूचना पुर्‍याउने निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले सामाजिक सञ्जालमार्फत फैलाइने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक सामग्रीमाथि प्रभावकारी निगरानी बढाउन पनि जोड दिए।

मुख्यमन्त्री आचार्यले पछिल्ला राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राख्दै प्रदेशको शान्ति–सुरक्षामा असर पार्न सक्ने कुनै पनि गतिविधिलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै चारवटै सुरक्षा निकाय उच्च मनोबलका साथ परिचालित रहेको र आवश्यक समन्वय तथा सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

भारतीय सीमासँग जोडिएका बाँके, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया तथा दाङ जिल्लालाई लुम्बिनी प्रदेशका संवेदनशील क्षेत्रका रूपमा लिइएकाले ती क्षेत्रमा सुरक्षा निगरानी थप सुदृढ बनाइएको प्रदेश सरकारले जनाएको छ।