बलिउड अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नी पत्नी तथा अभिनेत्री कियारा आडवाणीको जन्मदिनमा अत्यन्तै रमाइलो तरिकाले शुभकामना दिएका छन्।

३५ औँ जन्मदिनको अवसरमा शुक्रबार सिद्धार्थले इन्स्टाग्राममा साझा गरेको एउटा रमाइलो पोस्टले सामाजिक सञ्जालमा अहिले चौतर्फी चर्चा बटुलिरहेको छ। कियारा ३५ वर्ष पुगेको विशेष दिनमा सिद्धार्थले गुलाबी सलवार-सूटमा चकलेट आइसक्रिमको स्वाद लिइरहेकी एक मनमोहक तस्बिर साझा गरेका थिए।

उक्त तस्बिरसँगै सिद्धार्थले लेखेको क्याप्शनले सबैको ध्यान खिच्यो। उनले लेखेका छन्, ‘मेरो आइसक्रिम चोर्दा पनि हरेक दिनलाई अलि मीठो बनाउने व्यक्तिलाई जन्मदिनको शुभकामना ❤️😉’’’जुन प्रशंसकहरूले अत्यधिक रुचाएका छन्।

कियारा र सिद्धार्थको जोडी बलिउडका सर्वाधिक रुचाइने जोडीहरूमध्ये एक हो। उनीहरूले फेब्रुअरी ७, २०२३ मा राजस्थानको ऐतिहासिक सहर जैसलमेरमा एक भव्य तथा परम्परागत हिन्दू विवाह समारोहमा विवाह गरेका थिए। वैवाहिक जीवनको अर्को खुसीको रूपमा उनीहरूले जुलाई १५, २०२५ मा आफ्नी छोरी सरायालाई स्वागत गरेका थिए।

कामको कुरा गर्दा कियारा निर्देशक गीतु मोहनदासको द्विभाषी कन्नड-अंग्रेजी फिल्म ‘टक्सिक’ मा प्रमुख भूमिकामा देखिनेछिन्, जसमा सुपरस्टार यश लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ। यसअघि उनको अन्तिम थिएटर रिलिज अयान मुखर्जीद्वारा निर्देशित ‘वार २’ थियो।

अर्कोतर्फ, सिद्धार्थ यसअघि ‘परम सुन्दरी’ मा देखिएका थिए। उनी अब एकता कपूरको ब्यानरमा निर्माण भई अरुणाभ कुमार र दीपक मिश्राद्वारा सह-निर्देशित लोक थ्रिलर फिल्म ‘भवान: फोर्स अफ द फरेस्ट’ मा तमन्ना भाटियासँग मुख्य भूमिकामा देखिनेछन्।