भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको जन्तरमन्तरमा हालै भएको विरोध प्रदर्शनको क्रममा आफू र आफ्नी स्वर्गीय आमा हीराबेन मोदीमाथि भएको दुर्व्यवहार र अपशब्द प्रयोग गर्नेलाई माफ गरेका छन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
केही समयअघि जन्तरमन्तरमा विद्यार्थी विरोध प्रदर्शनको क्रममा केही प्रदर्शनकारीहरूले प्रधानमन्त्री मोदी र उनकी आमाविरुद्ध आपत्तिजनक तथा असभ्य भाषा प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो। यस घटनालाई लिएर चौतर्फी आलोचना र कानुनी कारबाहीको समेत माग उठिरहेको थियो। गाजियाबादकी एक महिलाले यस सम्बन्धमा प्रहरी चौकीमा उजुरीसमेत दर्ता गरेकी थिइन्।
तर, यस विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री मोदीले ती बालबालिका तथा युवाहरूलाई कानुनी झमेलामा फसाउन वा सजाय दिनभन्दा पनि क्षमा दिनुपर्ने तर्क गरेका हुन्। उनले भने, ‘जन्तरमन्तरमा मलाई मात्र होइन, मेरी स्वर्गीय आमालाई पनि दुर्व्यवहार गरिएको थियो। तर दुर्व्यवहारले कहिल्यै कुनै समस्या समाधान गर्दैन। यी भ्रमित बालबालिकालाई सही बाटो देखाइदिऔं।’
उनले बाल्यकालमा हुने गल्तीहरू स्वाभाविक भएको र यसलाई सांस्कृतिक झट्काको रूपमा लिँदै समाजले उनीहरूलाई सुधारको मौका दिनुपर्ने बताए। उनले थपे, ‘म उनीहरूलाई माफ गर्न चाहन्छु। मानिसहरूले गल्ती गर्छन्, तर यो सांस्कृतिक चिन्ता हो कि हाम्रा छोरीहरूले यस्तो भाषा प्रयोग गरिरहेका छन्। हामीले यी भ्रमित बालबालिकाहरूलाई क्षमा गर्नुपर्छ; आखिर, तिनीहरू हाम्रा आफ्नै बालबालिका हुन्।’
त्यस अवसरमा उनले एक उदाहरण दिँदै भने, ‘यदि दाँतले जिब्रो टोक्यो भने, हामी त्यसलाई भाँच्दैनौं, किनकि दुवै हाम्रा हुन्। त्यसैगरी, हाम्रा बालबालिका पनि हाम्रा आफ्नै हुन्। उनीहरूलाई सही बाटो देखाउनु हाम्रो काम हो।’
भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले देश तीव्र गतिमा अगाडि बढिरहेको दाबी गर्दै युवाहरूको भविष्य उज्ज्वल रहेको उल्लेख गरेका छन्। उनले युवाहरूलाई आफ्ना गल्तीहरूबाट सिकेर अगाडि बढ्न र देशको विकास यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गरे। आफ्नो सपना प्रत्येक युवा अगाडि बढेको हेर्नु रहेको र त्यसका लागि आफू निरन्तर लागिपर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत युवा तथा आम जनतासँग संवाद गर्ने क्रमलाई तीव्रता दिएका छन्। प्राप्त जानकारी अनुसार यो पछिल्लो नौ दिनमा उनको पाँचौं भिडियो सन्देश हो।
यसअघिका भिडियो सन्देशहरूमा उनले विभिन्न महत्त्वपूर्ण मुद्दा र सरकारका निर्णयहरूको बारेमा कुरा गरेका थिए। जुलाई ३० मा लोकसभा र राज्यसभामा पेपर चुहावट सम्बन्धी संशोधन विधेयक पारित भएपछि भिडियो सन्देश जारी गर्दै उनले दशकौंदेखि प्रत्येक राज्य र केन्द्र सरकारले पेपर चुहावटको समस्याको सामना गर्दै आएको बताएका थिए। यसले विद्यार्थीहरूको भविष्यलाई खतरामा पार्ने भन्दै उनले यसको गम्भीरता औंल्याएका हुन्।
जुलाई २६ मा परीक्षामा सुधार ल्याउन र पेपर चुहावट सधैँका लागि रोक्न कडा कानुन ल्याउने घोषणा गर्दै उनले इन्फोसिसका सह-संस्थापक नन्दन निलेकणीको अध्यक्षतामा छ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको जानकारी दिएका थिए।
जुलाई २४ मा अघिल्लो दिनको भिडियोमा जनता तथा युवाहरूले दिएका सकारात्मक सुझाव र प्रतिक्रियाप्रति उनले कृतज्ञता व्यक्त गरेका थिए। त्यस्तै, जुलाई २३ मा मध्यरातमा पेपर लीक संशोधन विधेयकको घोषणा गर्दै उनले यो लाखौं विद्यार्थी र अभिभावकहरूको लागि पीडादायी समस्या भएको उनको भनाइ थियो। उनले यसलाई रोक्न सरकारले विगत साढे दुई महिनादेखि कडा कदम चालिरहेको जानकारी गराएका थिए।

प्रतिक्रिया