खान किङ शाहरुखका छोरा आर्यन खान आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन्। हालै लन्डनमा एक युवतीसँग देखिएको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।

सामाजिक सञ्जालमा भाइरल भएका तस्वीर र भिडियोमा आर्यन लन्डनको एक क्यासिनोबाट बाहिर निस्किरहेको देखिन्छ। प्रयोगकर्ताहरूले ती युवतीको पहिचान कलाकार विनी तकायरका रूपमा गरेका छन्। दुवैलाई सँगै क्यासिनोबाट बाहिर निस्किएको देखिएपछि उनीहरूबीच डेटिङ भइरहेको हुन सक्ने चलचित्रका जानकारहरुको आकलन छ। यद्यपि, यस विषयमा आर्यन वा विनीमध्ये कसैले पनि आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

तस्वीर सार्वजनिक भएपछि विनी तकायरले आफ्नो इन्स्टाग्राममा लन्डन भ्रमणका केही तस्वीर साझा गर्दै क्याप्सनमा लन्डन लेखेकी थिइन्। त्यसपछि उनीहरूको सम्बन्धबारेको चर्चा झन् बढेको छ। साथै, आर्यन र विनीले इन्स्टाग्राममा एकअर्कालाई फलो गर्ने तथ्य पनि सार्वजनिक भएको छ।

यसअघि पनि आर्यन खानको नाम ब्राजिलियन मोडल तथा अभिनेत्री लरिसा बोनेसी सँग जोडिएको थियो। लरिसाले आर्यनको लक्जरी स्ट्रीटवेयर ब्रान्डका विज्ञापनहरूमा अभिनय गरेकी थिइन्। उनी आर्यनको निर्देशनमा बनेको पहिलो वेब सिरिज ‘द ब्याटल अफ बलिउड’ को प्रिमियर कार्यक्रममा पनि देखिएकी थिइन्।

आर्यन खानले अभिनयभन्दा निर्देशन र व्यवसायलाई आफ्नो करियरको रूपमा रोजेका छन्। उनले आफ्नै लक्जरी फेसन ब्रान्डमार्फत व्यवसाय सुरु गरेका छन् भने निर्देशकका रूपमा पनि वेब सिरिजमार्फत डेब्यु गरिसकेका छन्।

लाइमलाइटबाट टाढा रहन रुचाउने आर्यन सामान्यतया मिडियाबाट टाढा रहनछन्, तर उनको व्यक्तिगत जीवनसँग सम्बन्धित गतिविधिहरू बेला–बेलामा चर्चाको विषय बन्ने गरेका छन्।