मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि भएको यौनजन्य व्यवहारका घटना वर्षौंदेखि गुपचुप थियो। विद्यार्थीहरूले केही दिनअघि उक्त घटना प्रमाणसहित सार्वजनिक गरे। विद्यालयले ट्रान्सक्रिप्टको शुल्कवृद्धि गरेपछि सुरु भएको विरोधपछि पूर्वछात्राहरूले सार्वजनिक गरेका अनुभव, अडियो र टेक्स्ट म्यासेजपछि प्रहरीले यतिबेला चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले विद्यालयका शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार, भीम नेपाल र सवारी चालक प्रदीप भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।
यस्तै सुनसरीकी एक १८ वर्षीया बालिकाको फोटो तथा भिडियो विभिन्न सामाजिक सञ्जालबाट डाउनलोड गरी फेक टिकटक आइडी निर्माण गरी अश्लील ढंगले सार्वजनिक गरेको उजुरी प्रहरीमा परेको छ। स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जाल प्लेटफर्म चलाउने बालिका साइबर अपराधी र बाल यौन दुराचारीको निसानामा पर्ने क्रम बढेसँगै जिल्ला प्रहरी कार्यालयमा ती बालिकाले उजुरी दिएकी हुन्।
उक्त घटना साइबर बुलिङ, डिजिटल यौन दुर्व्यवहार, गोपनीयताको उल्लंघन र चरित्र हत्यासँग सम्बन्धित छ। यसरी फोटो तथा भिडियो अश्लील ढंगले सार्वजनिक हुँदा बालिकाको सामाजिक प्रतिष्ठामा असर पुगेको छ।
दुई महिनाअघि इटहरीकी एक बालिकाको सार्वजनिक बेइज्जत हुँदा मुद्दा दर्ताको समाचार बाहिरिए आफूले जे पनि गर्न सक्ने ती बालिकाले बताएकी थिइन्। यसले गर्दा मिडियाकर्मी, प्रहरी, ती बालिका अध्ययन गर्ने विद्यालय परिवार र आफन्तले बडो सचेतना अपनाएका थिए। ती बालिका केही दिनसम्म मानसिक रूपमा विक्षिप्त बन्न पुगिन्। उनले बल्ल केही सम्हालिएर आफ्ना नियमित काम सहज ढंगले गर्न थालेकी छन्। उनका भिनाजु भन्छन्, ‘अब चाहिँ नानीलाई सहज हुन थालेको छ तैपनि केयरचाहिँ गरिरहन्छौं।’
एकपछि अर्को शृंखलाबद्ध रूपमा यस्तो घटना हुने क्रममा सुनसरीमै एक १८ वर्षीया बालिकाले आफ्नो र दिदीको फोटो तथा भिडियो विभिन्न सामाजिक सञ्जालबाट डाउनलोड गरी अज्ञात व्यक्तिले फेक इन्स्टाग्राम आइडी बनाएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। पछिल्लो समय अनलाइनको सहज पहुँचले गर्दा विशेष गरी बालिकाको चरित्र हत्या गर्ने र उनीहरूलाई अनावश्यक दुःख दिने क्रम बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निम्ति प्रमुख डिएसपी चन्द्रबहादुर खड्काले बताए। ‘पहिला सम्बन्ध हुने अनि पछि सम्बन्ध बिग्रिएपछि चरित्र हत्या गर्न अनेक कार्य गर्ने गरेका घटना बढेका छन्,’ उनले भने।
त्यसो त सुकुना माध्यमिक विद्यालयको घटनाक्रम पनि सामाजिक सञ्जालमार्फत नै शिक्षकले विद्यार्थीहरूलाई ‘तिम्रो उत्तरपुस्तिका मसँग छ, कति नम्बर चाहिन्छ ?’ तिमी सम्पर्कमा आऊ, विभिन्न ‘आइटम’ का फोटो पठाऊ भनेर म्यासेज पठाएका घटना बग्रेल्ती छन्।
एक छात्राले बाबुलाई सँगै लिएर आई घटनाबारे एक वर्षअघि नै विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतसमक्ष गुनासो गरेकी थिइन्। प्रअ बस्नेतले ‘एक पटकलाई छाडिदिनू, आइन्दा त्यस्तो गरे झापड हानिदिनू’ भनेका थिए तर अहिले पक्राउ परेका शिक्षकमध्ये अविरल मास्केले त्यो कार्य रोकेनन्।
कक्षा ११ र १२ मा लेखा विषय अध्यापन गर्ने मास्केले आफूले पढाउने कक्षाका प्रायः सबैजसो छात्रालाई त्यसरी म्यासेज गर्ने गर्थे। ‘मलाई पनि एक दिन म्यासेज पठाएका थिए। मैले पहिला नै बानी थाहा पाएको थिएँ, कुनै रेस्पोन्स गरिनँ। पछि मेरो साथीलाई म्यासेज पठाएर दुःख दिएको थाहा पाएँ,’ यसै वर्ष कक्षा १२ पढाइ पूरा गरेकी एक छात्राले भनिन्। मास्के विद्यालय सञ्चालन रहेको खोर्साने क्षेत्रका धनाढ्य अनि राजनीतिक हिसाबले पहुँचवाला भएकाले गर्दा एक वर्षअघि सचेत गराउँदा गराउँदै मनोबल बढेर त्यस्ता गतिविधिलाई निरन्तरता दिएको पीडितले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार बालबालिकाविरुद्ध कसुर अभियोगमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको छ। अनुसन्धान गर्दा अन्य दोषी भए उनीहरू पनि तानिने कटुवालले बताए।
सामाजिक सञ्जालमार्फत बालबालिकामाथि हुने अपराधका घटनामा कार्यरत संस्था भ्वाइस अफ द चिल्ड्रेनमार्फत सन् २०२६ जनवरीदेखि जुनसम्म ११ वटा घटना प्रहरीमा दर्ता गरिएको छ। सन् २०२६ जनवरीदेखि जुनसम्म सामाजिक सञ्जालमार्फत भएका ११ वटा पीडितसम्बन्धी घटना दर्ता भएका हुन्। सबै घटना फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भएका हुन्।
यी घटनामध्ये केहीमा बलात्कारजस्तो जघन्य अपराधका घटनासमेत भएका छन्। यस्तै केही मानसिक उत्पीडन, यातना तथा अनलाइन दुव्र्यवहारजस्ता गम्भीर अपराध समावेश छन्। केही घटनामा पीडकले टिकटकमा आपत्तिजनक गीत प्रयोग गरी भिडियो बनाएर पीडितलाई जिस्काउने, अपमान गर्ने र मानसिक तनाव दिने गरेका छन्।
केही पीडितले सामाजिक दबाब र अनलाइन उत्पीडनका कारण विद्यालय जानबाट समेत वञ्चित हुनुपर्ने वा विद्यालयमा प्रतिबन्धजस्तो अवस्था सामना गर्नुपरेको छ। भ्वाइस अफ द चिल्ड्रेन इटहरीकी पूजा भण्डारीका अनुसार विशेष गरी इन्टरनेटमा अश्लील शब्द, तस्बिर, भिडियो तथा निरन्तर धम्कीमार्फत मानसिक हिंसाका घटना वर्षैपिच्छे बढ्न थालेका छन्।
कोसी प्रदेशभरि आर्थिक वर्ष २०८२/८३ को अवधिमा जबर्जस्ती करणीका घटना ५१२ वटा छन्। यी घटनाबाट पीडितको संख्या ५१४ छ। त्यसमा १० वर्षभन्दा मुनिका ४७ जना र ११ वर्षदेखि १८ वर्षका २९९ बालिका पीडित भएको कोसी प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।
प्रहरीको तथ्यांकमा जबर्जस्ती करणी उद्योगका घटना ८३ वटा छन्। यी घटनामा ८५ जना पीडित छन्। पीडित हुनेमा १० वर्षमुनिका तीन जना र ११ वर्षदेखि १८ वर्ष उमेर समूहका २३ जना छन्। सोही उमेर समूहकी एक बालिकामाथि एउटा अप्राकृतिक मैथुनको घटना पनि भएको उल्लेख छ।
बाल यौन दुरुपयोगका घटना भने ११४ प्रहरी कार्यालयमा दर्ता भएका छन्। यी घटनामा ११६ जना पीडित छन्। पीडित हुनेमध्ये ३१ जना १० वर्षमुनिका र ११ वर्षदेखि १८ वर्ष उमेर समूहका ८५ जना छन्। बाल यौनदुराचार वा बालिका पीडित भएको अश्लील सामग्रीको उत्पादन वा आदानप्रदान परम्परागत अपराध हो तर पछिल्लो समय इन्टरनेटको विकासले यो अपराधलाई झनै बृहत् बनाएको छ।
बाल यौन दुराचारअन्तर्गत कम्प्युटर प्रणालीमार्फत वितरण गर्ने उद्देश्यले बाल यौन दुराचारसम्बन्धी सामग्री उत्पादन गर्ने, कम्प्युटर प्रणालीमा त्यस्तो सामग्री प्रस्ताव गर्ने वा उपलब्ध गराउने, कम्प्युटर प्रणालीमार्फत त्यस्तो सामग्री वितरण वा प्रसारण गर्ने, कम्प्युटर प्रणालीमार्फत आफू वा अन्य व्यक्तिका लागि त्यस्तो सामग्री प्राप्त गर्ने तथा कम्प्युटर प्रणाली वा कम्प्युटर डाटा संग्रह गर्ने उपकरणमा त्यस्तो सामग्री राख्नेलगायत कार्य पर्छन्।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अपहरण गरी र शरीर बन्धक गराई जबर्जस्ती करणीको घटना ६ वटा मुद्दा दर्ता भएकोमा ६ जना नै पीडित भएका छन्। मानव बेचबिखन गरी जबर्जस्ती करणीको घटना र जबर्जस्ती करणी गरी हत्या गरेका घटना एउटा/एउटा छन्। बालिका संलग्न अवैध गर्भपतनका घटना भने पाँच वटा भएका छन्। यी घटनाको पृष्ठभूमिमा एकअर्काबिच जोड्ने महत्त्वपूर्ण माध्यम सामाजिक सञ्जाल नै रहेको छ।
यसरी सामाजिक सञ्जालको दुरुपयोगबाट बढ्दै गएको साइबर हिंसा र डिजिटल सुरक्षाको चुनौतीलाई देखाएको छ। महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया