कपिलवस्तु अस्पतालका डाक्टरहरूको लापरबाहीले कपिलवस्तु नगरपालिका–७ धमौलीकी सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयवासीले अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
३० वर्षीया चनरमती यादवको शल्यक्रिया गरी गत साउन ७ गते अस्पतालमा सकुशल बच्चा जन्माइएको थियो। सुत्केरी महिलालाई पिसाब फेर्न समस्या आएपछि अस्पतालले डाक्टरहरूको सल्लाहअनुसार थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाएको थियो। त्यहाँ उनको चार दिनसम्म उपचार भएको थियो।
उपचारका क्रममा मिर्गौलामा समस्या देखिएपछि दुई पटक श्रीमतीको डायलासिस गरिएको मृतकका श्रीमान् राजेश यादवले बताए। साउन १२ गते श्रीमतीको मृत्यु भएको उनले जानकारी दिए।
श्रीमतीको उपचारमा कपिलवस्तु अस्पतालका डाक्टरले लापरबाही गरेका कारण यस्तो समस्या आएको र अनाहकमा श्रीमतीले ज्यान गुमाउनु परेको उनले आरोप लगाए। आफ्ना तीनवटै सन्तान सामान्य अवस्थामा नै जन्मिएको तर यसपटक भने डाक्टरको लापरबाही देखिएको उनको भनाइ छ।
श्रीमतीको उपचारका क्रममा कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीले दुर्व्यवहारसमेत गरेको उनले गुनासो गरे।

प्रतिक्रिया