रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अति उच्च जोखिममा परेका ८८३ जना नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकामध्ये चौतर्फी चिन्ताको विषय बनेको अप्पर त्रिशूली हाइड्रोपावरको टनेल (सुरङ) भित्र फसेका ३५० जना मजदुर तथा स्थानीय रहेका छन्।
अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिका बीच टनेलभित्रबाट ३५० जनाको सफल उद्धार भइसकेको छ भने सोही टनेलभित्र अझै फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई बाहिर निकाल्न सेनाको टोली निरन्तर जुटिरहेको छ।
उक्त जटिल उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।
यसैगरी, सी क्यू आर टी धुन्चे ब्यारेक (रसुवा) बाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को सैन्य टोलीले रसुवाका अन्य विकट स्थानहरूबाट थप ५३३ जना नागरिकको उद्धार गरेको छ।
टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु वेशीका विभिन्न स्थानहरूबाट जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।

प्रतिक्रिया