(सुमन थापा)
जेठ २, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सिंहदरबारमा भएकाे “वान टु वान” वार्ता सकिएकाे छ । बैठक सकेर बाहिरिएका बरिष्ठ नेता माधव कुमार नेपालले संक्षिप्त कुरा गर्दै पार्टीको आन्तरिक विवाद समाधान गर्न १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको वताउनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुइ नेताबीचको वार्तामा पार्टीमा देखिएको आन्तरिक विवाद हल गर्न कार्यदल बनाएर अघि बढ्ने सहमति भएकाे छ । नेकपा एमालेमा उत्पन्न पछिल्लो समस्या र पहिले देखिका विवादहरु समेत समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा दुवै पक्षबाट ५/५ जना सदस्यहरु सम्मिलित हुनेछन् ।

फायल फोटो

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहने छन् भने माधव कुमार नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुने भनिएको छ।कार्यदलले तीन दिन भित्र सुझाव सहित प्रतिवेदन बुझाउने गरी समय सिमा तोकिएको वरिष्ठ नेता नेपालले जानकारी गराउनु भयो।