(सुमन थापा )

काठमाडौ २८ बैशाख, प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले) स्थायी कमिटीको चौथो बैठक पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ ।

आजको बैठकले पार्टी केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागाईंको कोभिड संक्रमणका कारण भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको । उहाँको निधनबाट पार्टीले एकजना असल नेता र दोलखाली जनताले एकजना अब्बल जनप्रतिनिधि गुमाएका छन् । बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उहाँको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको प्रवक्ता प्रदिप कुमार ज्ञावालीले जानकारी गराएका छन ।

बैठकले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमहरुको गम्भीर समिक्षा गरेको छ । पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरू बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि पार्टी नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरेको छ ।

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूले कोमिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले अक्सिजनको पर्याप्त प्रभावकारी र नियमित आपूर्ति खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तार लगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जुटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकले कोमिड महामारीका कारण ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सबै संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको बिज्ञप्ति मार्फत जानकारी दिएका छन ।