साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। योसँगै स्पेन १६ वर्षपछि पुनः विश्वकपको नयाँ च्याम्पियन बनेको छ।

अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै स्पेनले ऐतिहासिक जित दर्ता गरेको छ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमा स्पेनका लागि फेरान टोरेसले गरेको एकमात्र गोल नै टोलीको जितमा निर्णायक बन्यो।

उनले खेलको अतिरिक्त समयमा उत्कृष्ट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसअघि अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।

१० खेलाडीमा समेटिएको अर्जेन्टिनाले स्पेनको लगातारको आक्रमणलाई रोक्न नसक्दा उपाधि रक्षा गर्ने अवसर गुमाएको छ।

खेल अवधिभर स्पेनले बलमाथि पकड जमाउँदै अर्जेन्टिनालाई दबाबमा राखेको थियो।

अर्जेन्टिनाले खेलको अन्तिम समयतिर केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।

स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो। १६ वर्षपछि पुनः विश्वकपको उपाधि उचाल्दै स्पेनले दोस्रोपटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।