स्वास्थ्य सेवा केवल उपचारको माध्यम मात्र होइन, मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र जीवनप्रतिको सम्मान पनि हो भन्ने सन्देश सुदूरपश्चिमको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले व्यवहारमै देखाएको छ।
डडेल्धुराकी बन्दना लिम्बू करिब दुई वर्षसम्म अस्पतालमै जीवन र मृत्युसँग संघर्ष गरिन्। अन्ततः स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनी घर फर्किएकी छन्। घर फर्किने क्रममा अस्पतालले उपचार तथा औषधितर्फ बाँकी रहेको ३१ लाख ६१ हजार ७७८ रुपैयाँ पूर्ण रूपमा मिनाहा गर्नुका साथै उनलाई दैनिक आवतजावत सहज होस् भनेर एक थान आरामदायी ह्विलचेयर समेत प्रदान गरेको छ।
अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी बन्दनाको उपचार यात्रा, आर्थिक सहुलियत र सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको निर्णय सार्वजनिक गरेको हो।

साइकल सिक्ने क्रममा दुर्घटना, दुई वर्ष लामो उपचार
बन्दना २०८१ साल साउन ३१ गते घरनजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्। प्रारम्भिक उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएको थियो। त्यहाँबाट थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि सोही दिन धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा रिफर गरिएको थियो।
अस्पतालमा भर्ना भएको भोलिपल्ट नै उनको पहिलो शल्यक्रिया गरिएको थियो। त्यसपछि विशेषज्ञ चिकित्सकहरूको निरन्तर निगरानीमा दुई वटा मेजर शल्यक्रिया, आवश्यक माइनर शल्यक्रिया, आईसीयू सेवा, सघन नर्सिङ, औषधि उपचार, फिजियोथेरापी तथा पुनःस्थापना उपचार निरन्तर सञ्चालन गरिएको अस्पतालले जनाएको छ।
लगातार १ वर्ष ११ महिना १ दिन अस्पतालमै उपचारपछि बन्दनाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको र उनी घर फर्किन सफल भएको अस्पतालले जानकारी दिएको छ।
आर्थिक अवस्था कमजोर देखेपछि खर्च मिनाहा
लामो समयको उपचारका कारण उपचार खर्च निकै बढे पनि बन्दनाको परिवारको आर्थिक अवस्था कमजोर रहेको मूल्यांकनपछि अस्पतालले उपचार सेवा तथा औषधितर्फ बाँकी रहेको ३१ लाख ६१ हजार ७७८ रुपैयाँ पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको जनाएको छ।
अस्पतालका अनुसार यो निर्णय व्यवसायिक दृष्टिकोणभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनाअनुसार गरिएको हो।
स्वास्थ्य सेवा नाफा होइन, मानवीय जिम्मेवारी
पत्रकार सम्मेलनमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले स्वास्थ्य सेवा नाफामुखी क्षेत्रभन्दा पनि मानवीय संवेदनासँग जोडिएको सेवा भएको बताए।
उनले भने, ‘हरेक बिरामीका पछाडि एउटा परिवारको सपना, पीडा र आशा जोडिएको हुन्छ। आर्थिक अभावकै कारण कुनै बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने हाम्रो सदैव प्रयास रहन्छ। बन्दना लिम्बुको उपचारमा गरिएको खर्च मिनाहा कुनै प्रचारको विषय होइन, यो हाम्रो सामाजिक दायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको अभ्यास हो।’
उनका अनुसार निसर्ग अस्पतालले स्थापना कालदेखि नै आर्थिक रूपमा विपन्न, असहाय तथा दीर्घकालीन उपचार आवश्यक पर्ने बिरामीलाई आफ्नो सामर्थ्यअनुसार सहुलियत, छुट तथा निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा पनि यस्तो अभियानलाई निरन्तरता दिइनेछ।

सहयोगीप्रति आभार
अस्पतालले बन्दनाको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, फिजियोथेरापिस्ट, सहयोगदाता, शुभेच्छुक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको छ।
सुदूरपश्चिममा आधुनिक तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको निसर्ग अस्पतालले पछिल्ला वर्षहरूमा जटिल शल्यक्रिया, आपत्कालीन सेवा, दीर्घकालीन उपचार, सामाजिक स्वास्थ्य अभियान तथा आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहजीकरण गर्दै आएको जनाएको छ।
मानवीय सेवाको प्रेरणादायी सन्देश
बन्दना लिम्बूको उपचार यात्रा एउटा बिरामी निको भएको घटनामा मात्र सीमित छैन। चिकित्सकीय दक्षता, निरन्तर उपचार, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाले एकसाथ काम गर्दा असम्भवजस्तो देखिने संघर्षलाई पनि आशामा बदल्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण यो घटनाले प्रस्तुत गरेको छ।
आर्थिक अभाव उपचारको बाधा बन्नु हुँदैन भन्ने सन्देशलाई व्यवहारमा उतार्दै निसर्ग अस्पतालले स्वास्थ्य सेवामा मानवता अझै जीवित छ भन्ने विश्वास समाजमा स्थापित गरेको छ।


प्रतिक्रिया