विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार पौडेललाई दोषी ठहर गर्दै सो सजाय तोकेको हो।
अदालतले पौडेलको वैध आय दुई करोड २१ लाख रुपैयाँ मात्र देखिएको अवस्थामा उनको साथमा १४ करोड ५७ लाख रुपैयाँ बराबरको सम्पत्ति फेला पारेको थियो।
वैध आय र कुल लगानीबीचको अन्तर १२ करोड ७५ लाख रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेपछि इजलासले सो रकमलाई गैरकानुनी आर्जन ठहर गरेको हो।
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा पौडेललाई दुई वर्ष कैद सजाय तोकेको छ। साथै, विशिष्ट श्रेणीको सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेको ठहर गर्दै थप ६ महिना गरी कुल २ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ।
अदालतले गैरकानुनी रूपमा आर्जन गरेको १२ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत हुने र सोही बराबरको जरिबाना समेत तिर्नुपर्ने फैसला सुनाएको छ।
यसका साथै, पौडेलले अपराध पीडित संरक्षण कोषमा ५१ लाख रुपैयाँ बुझाउनुपर्ने फैसलामा उल्लेख छ।
राष्ट्रिय भुक्तानी प्रणाली भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा यो दोस्रो मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया