.jpg)
भारतमा हुने परीक्षाको प्रश्नपत्र चुहावटको विषयलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका सामाजिक कार्यकर्ता सोनम वाङचुकको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। अनशनको १७ औँ दिनमा प्रवेश गर्दा उनको स्वास्थ्य थप बिग्रिँदै गएको छ।
सोनम वाङचुकले ‘युवा ककरोच जनता पार्टी (सीजेपी)’ का संस्थापकसँग मिलेर मध्य दिल्लीमा धर्ना दिइरहेका छन्। सीजेपी भारतका युवाहरूद्वारा सञ्चालित एक अनलाइन अभियान हो, जसले विशेष गरी बेरोजगार र निराश युवाहरूको आवाज उठाउँदै देशको लोकतान्त्रिक मुद्दामा सक्रिय भूमिका खेल्दै आएको छ।
मे महिनामा लाखौँ विद्यार्थीलाई प्रभावित पार्ने गरी भएको प्रश्नपत्र चुहावटको घटनालाई लिएर शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै वाङचुकले धर्ना दिइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्धको यो प्रदर्शनलाई निकै दुर्लभ मानिएको छ।
३० वर्षीय अभिजीत दिपकले स्थापना गरेको सीजेपीले मे महिनामा स्थापना भएको केही दिनमै इन्स्टाग्राममा दुई करोड २० लाख फलोअर्स प्राप्त गर्दै युवा पुस्ताको ध्यान तानेको छ।
सिमित मानिसका अगाडि सेतो गद्दामा सुतिरहेका ५९ वर्षीय वाङचुकले आफू बोल्न नसक्ने गरी कमजोर भएको इशारा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक तस्बिरमा वाङचुकलाई चिकित्सकहरूले घेरेको देखिन्छ। सीजेपीका अनुसार मंगलबारसम्म उनको तौल ८.५ किलोग्रामसम्म घटेको छ।
‘हामी सोनमलाई आफ्नो अनशन फिर्ता लिन मनाउन प्रयास गरिरहेका छौँ। तर उहाँ यसलाई जारी राख्न अडिग हुनुहुन्छ,’ दर्शक र युट्युबरहरूसँग कुरा गर्दै दिपकले भने। उनले थपे, ‘सोनमले हामीलाई जुलाई २० मा संसदतर्फ मार्चको तयारी गर्न भनिरहनु भएको छ। मलाई लाग्छ सरकार सोनम र भोक हडतालमा रहेका अन्य व्यक्तिलाई मर्न दिन चाहन्छ।’
संसद नजिकै रहेको जन्तर मन्तरको विरोध स्थलमा भोक हडतालमा बसेका एक युवा सोमबार बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो। यस विषयमा शिक्षामन्त्री प्रधान, उनको मन्त्रालय र सरकारका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
सोनमको स्वास्थ्यलाई लिएर विपक्षी दलका प्रमुख नेताहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। शिव सेना प्रमुख उद्धव ठाकरेले फोनमार्फत सोनमको स्वास्थ्यबारे सोधपुछ गर्दै भोक हडताल अन्त्य गर्न हार्दिक अपिल गरेका छन्। उनले सोनमको जीवन अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सीजेपी र जुलाई २० मा संसदतर्फ गरिने मार्चमा आफ्नो समर्थन रहेको जनाएका छन्।
त्यस्तै, आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले पनि फोन सम्पर्क गरी सोनमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले संवाद र लोकतन्त्रको पक्षमा उभिने हरेक आवाजको महत्व रहेको बताउँदै सीजेपीको विरोध प्रदर्शन र संसद मार्चमा समर्थन जनाएका छन्।
त्यसैगरी, तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीले सोनमसँग कुरा गर्दै उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेकी छन्। उनले सोनमलाई बलियो रहन आग्रह गर्दै विद्यार्थीहरूको न्यायका लागि भइरहेको यो आन्दोलनमा आफ्नो ऐक्यबद्धता व्यक्त गरेकी छन्।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ‘एक्स’ मा लेखेका छन्, ‘उनको जीवन सम्पूर्ण संसारका लागि अमूल्य छ किनभने यसले मानवता र वातावरणप्रतिको प्रतिबद्धतालाई मूर्त रूप दिन्छ, जुन लोकतन्त्रप्रतिको उनको प्रतिबद्धता जत्तिकै गहिरो छ।’
सीजेपीले आफूलाई ‘अल्छी, बेरोजगार र कालान्तरमा सही’ को प्रतिनिधित्व गर्ने संस्थाका रूपमा चिनाउँछ। यसको तीव्र अनलाइन वृद्धिले भारतका युवामा रहेको निराशालाई प्रतिविम्बित गर्छ। सरकारी तथ्यांकअनुसार सन् २०२५ मा भारतमा १५ देखि २९ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर करिब १० प्रतिशत छ, जुन सहरी क्षेत्रमा १३.६ प्रतिशतसम्म पुगेको छ।
प्रश्नपत्र चुहावटका कारण २३ लाख उम्मेदवारले दिएको मेडिकल कलेज परीक्षा रद्द भएपछि युवाहरू आक्रोशित छन्। उक्त परीक्षा गत महिना पुनः आयोजित गरिएको थियो। एजेन्सी

प्रतिक्रिया