सोलुखुम्बुको लिङ्खु पिकेमा भारतको सहयोगमा गुम्बा भवनको शिलान्यास
असार ३०, काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सोलुखुम्बु जिल्लाको लिङ्खु पिके गाउँपालिका–३, डुपुरमा बन्ने स्वयम् बोधिलाम गुम्बा भवनको शिलान्यास गरिएको छ।
शिलान्यास समारोहमा लिङ्खु पिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो।
भारतीय राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गुम्बा निर्माणका लागि भारत सरकारले करिब रु. ३.३ करोड सहयोग उपलब्ध गराएको छ। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुने छ र लिङ्खु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।
समारोहमा गाउँपालिका अध्यक्ष बस्नेत र सचिव सिंहले विकास सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता पूर्वाधारले स्थानीय समुदायको सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। शिलान्यास समारोह असार ३० गते सम्पन्न भएको हो।

प्रतिक्रिया