मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिक दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई मोरङ जिल्ला अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। तर काठमाडौंमा दर्ता भएको अर्को मुद्दामा पक्राउ पुर्जी जारी रहेकाले उनी थुनामुक्त हुन पाएनन्।
सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश टंकबहादुर महतको इजलासले गिरीलाई हाजिरी जमानीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो। उनीमाथि कैदीबन्दीको भत्ता दुरुपयोग तथा आपराधिक लाभसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको थियो।
यसअघि असार १८ गते उच्च अदालत विराटनगरले पाँच दिनभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न तथा उक्त अवधिमा अनुसन्धान नसकिए हाजिरी जमानीमा रिहा गर्न निर्देशनात्मक आदेश दिएको थियो।
मोरङ प्रहरीले गिरीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि म्याद थपको माग गरेको भए पनि अदालतले त्यसलाई अस्वीकार गरेको छ।
यद्यपि, गिरीसँगै पक्राउ परेका विनोदकुमार सिंह, विजय कामत र सञ्जयकुमार मण्डलको हकमा भने अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
जिल्ला अदालतबाट रिहा गर्ने आदेश आए पनि काठमाडौंमा उनीविरुद्ध अर्को मुद्दामा पक्राउ पुर्जी जारी भइसकेकाले गिरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । उनलाई विमानबाट आजै काठमाडौं लगिएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार गिरीविरुद्ध काठमाडौंमा आपराधिक विश्वासघात र ठगीसम्बन्धी मुद्दामा पक्राउ अनुमति जारी भइसकेको छ।
‘अभिषेक गिरीको हकमा सीआईबीले पहिले नै पक्राउ अनुमति लिइसकेको छ। त्यसैले थप अनुसन्धानका लागि उहाँलाई काठमाडौं पठाइँदै छ,’ एसपी कटवालले भने।
अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा नौ वर्ष कैद सजाय भुक्तान गरी २०७९ चैत ५ गते कारागारबाट छुटेका गिरीले जेलबाहिर रहेर पनि कारागारभित्र समानान्तर नियन्त्रण कायम राखेको आरोप लाग्दै आएको छ।
गत असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भत्ता कारागारभित्रैबाट गायब भएपछि उनी असार १३ गते पक्राउ परेका थिए।
प्रहरी अनुसन्धानका क्रममा कारागारभित्र कैदीबन्दीले उत्पादन गर्ने मुढा र गलैंचाको आम्दानी गिरीले असुल्ने गरेको तथा कारागारको मेस (भान्सा) मा हुने खाद्यान्न आपूर्तिमा समेत उनको प्रभाव रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले गिरीको घरमा खानतलासी गर्दा पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो। प्रहरीका अनुसार जेलमा नौ वर्ष रहँदा ‘चौकिदार’को जिम्मेवारी सम्हालेका गिरीले रिहापछि पनि आफ्ना विश्वासपात्रमार्फत कारागारको आर्थिक प्रशासन र मेस व्यवस्थापनमा प्रभाव कायम राखेका थिए।


प्रतिक्रिया