जुम्लामा बुधबार अपराह्न परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। चट्याङका कारण दुई छुट्टाछुट्टै स्थानमा गरी दुई दर्जनभन्दा बढी भेडा र खसीबाख्रा मरेका छन्।

हिमा गाउँपालिका–२ स्थित छोटाखर्सु लेकमा एनसेल टावर नजिकै साँझ साढे ५ बजे चट्याङ पर्दा ओदी गाउँका १८ वर्षीय रबिन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार चट्याङ लागेर २३ वर्षीय बल रोकाया र ४० वर्षीय जगत रोकाया सामान्य घाइते भएका छन्।

सोही घटनामा स्थानीयका १२ देखि १५ वटा भेडा समेत मरेका छन्। स्थानीय युवा धिरेन्द्र बहादुर रोकायाका अनुसार घटनालगत्तै पीडितलाई राहत उपलब्ध गराउन स्थानीय प्रशासन र हिमा गाउँपालिकालाई अपिल गरिएको छ। डीएसपी दाहालले पशुचौपाया क्षतिको यकिन विवरण संकलन गर्न प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए।

यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिका-१० बोहोरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा बुधबार अपराह्न करिब साढे ३ बजे परेको अर्को चट्याङले चरिरहेका १२ वटा खसीबाख्रा मारेको छ।

प्रहरीका अनुसार चट्याङ लागेर दलबहादुर कामीको एक, धनराज विकको तीन, ज्योति नेपालीको एक, गोबी सार्कीको एक र सिंह नेपालीको छ वटा खसीबाख्रा मरेका हुन्।