मधुवन नगरपालिकाले विकासको मेरुदण्ड शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य आधार स्तम्भको रुपमा अघि बढाउने आगामी वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ । मधुवन नगरपालिकाको १८औं नगर सभामा बुधबार नगर प्रमुख तेज बहादुर भाटले आगामी आर्थिक वर्ष २०८३/०८४ मा मानव पुँजी र आधारभूत विकासको मेरुदण्ड शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गुणस्तरीय एंवम् व्यावहारिक शिक्षा, सुलभ तथा भरपर्दो स्वास्थ्य सेवाको सुनिश्चितता र कृषिको आधुनिकीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने कार्यक्रम ल्याएको नगर प्रमुख भाटले प्रस्तुत गर्दा सभा सदस्यहरुले ताली बजाएर सहमती जनाएका थिए ।

आर्थिक, सामाजिक, पूर्वाधार तथा सहरी विकास, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

‘नगरको समृद्धिको आधार आन्तरिक आयको विस्तार’ भन्ने मुल नारालाई आत्मसात गर्दै नदी तथा वन, लगायतका प्राकृतिक स्रोतमा चुहावट नियन्त्रण गरिने नगर प्रमुख भाटले बताए । ‘आन्तरिक आय वृद्धिको लागि पालिकासंग आवद्ध सबै संयन्त्र तथा करदाता बिच नियमित छलफल गरि आन्तरिक आयवृद्धि गरिनेछ,’नगर प्रमुख भाटले भने,‘आगामी आवमा पालिकाभित्र करको दायरामा आउन नसकेका व्यवसायलाई लक्षित गरि व्यवसाय दर्ता घुम्ति शिविर संचालन गरिनेछ ।’

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न सरोकारवाला निकायसंग आगामी वर्षमा समन्वय गरिने जनाईएको छ ।

मधुवन नगरपालिकाकी नगर उप–प्रमुख अनिता कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब २ करोड ७० लाख ५० हजार बजेट प्रस्तुत गरेकी थिइन् ।