इरानले लेबनानमा इजरायलको लगातार आक्रमण र अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै होर्मुजको जलमार्ग बन्द गर्ने घोषणा गरेको छ। इजरायली आक्रमणबाट लेबनानमा हालसम्म चार हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको दाबी गरिएको छ।
इरानको संयुक्त सैन्य कमान्डले सरकारी टेलिभिजनमार्फत चेतावनी दिँदै भनेको छ, ‘यदि आक्रामकता जारी रहेमा त्यसपछिका कदमहरू योजना गरिएको छ।’ इरानले आफ्नो सैन्य प्रतिनिधिमण्डल स्विट्जरल्याण्ड पठाउने तयारी गरे पनि अमेरिकाले सम्झौता पालना नगरेसम्म ठोस वार्ता हुने सम्भावना कम रहेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाहेईले भने, ‘यो यात्रा अर्को पक्षले आफ्नो दायित्व पूरा गर्ने माग गर्नेबारेमा हो।’
यसैबिच, पाकिस्तानको विदेश मन्त्रालयले प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टकमा हुने र त्यसमा कतारी मध्यस्थकर्ताहरू पनि सहभागी हुने बताएको छ।
उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताका लागि आफू केही दिनमै स्विट्जरल्याण्ड जाने बताएका छन्। भान्सले भने, ‘मलाई आशा छ कि म अर्को केही दिनमा जानेछु।’ तर उनले यो सधैं एक नाजुक समन्वय र कूटनीतिक प्रोटोकल भएको बताए। अमेरिकी सेनाले भने होर्मुज जलमार्गमबाट ५५ वटा व्यावसायिक जहाजहरू सुरक्षित रूपमा आवतजावत गरिरहेको जनाएको छ।
लेबनानमा युद्धविरामको प्रयास जारी रहे पनि आक्रमण रोकिएको छैन। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार टायर जिल्लाको बारिश सहरमा भएको आक्रमणमा एकै परिवारका चार जनासहित १६ जनाको मृत्यु भएको छ। इजरायलले भने हिजबुल्लाहको आक्रमणको जवाफ दिइरहेको दाबी गरेको छ। इजरायलका प्रवक्ताले हिजबुल्लाहले शत्रुतापूर्ण गतिविधि रोकेमा मात्र शान्ति सम्भव हुने बताएका छन्।
अमेरिका-इरान अन्तरिम सम्झौतामा इरानको प्रतिबन्ध हटाउने, दशौं अर्ब डलरको सम्पत्ति फुकुवा गर्ने र पुनर्निर्माण कोषको परिकल्पना गरिएको छ। तर पछिल्लो घटनाक्रमले यो सम्झौता नै खतरामा परेको विश्लेषण हुन थालेको छ। एजेन्सी


प्रतिक्रिया