काभ्रेको रोशी गाउँपालिका–७ बुचाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृतक ८ जनामध्ये हालसम्म ४ जनाको पहिचान खुलेको छ। पहिचान खुलेका मृतकमा रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, वडा नं. ८ की ६० वर्षीया प्यारीमाया तामाङ, वडा नं. ६ का ७५ वर्षीय इन्द्रबहादुर लोप्चन र दैलेख घर भई नेपाली सेनामा अमल्दार रहेका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन्। बाँकी ४ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा १६ जना घाइते भएका छन्, जसको पहिचान समेत खुलेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको गम्भीर रहेको छ। घाइते हुनेहरूमा रोशी गाउँपालिकाका विभिन्न वडाका स्थानीयसहित चालक घोया सिंह तामाङ (३४, बनेपा–३) समेत रहेका छन्। उनीहरूको टाउको, अनुहार, हात–खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

त्यस्तै घाइतेमध्ये ५–६ वर्षका एक बालक र करिब १ वर्षकी बालिकासमेत रहेका छन्। केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोशी गाउँपालिकाका विभिन्न वडाका स्थानीय, बर्दिया र तेमालका समेत यात्रु बसमा सवार थिए। दुर्घटनापछि घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।

बस दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।