विद्यार्थीका मोबाएल पानीमा डुबाएर नष्ट गरिएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

सिरहामा परीक्षार्थीका मोबाइल फोनहरू गैरकानुनी ढङ्गले पानीको ड्रममा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध अधिवक्ता अनिलकुमार साह, पीडित विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले संयुक्त रुपमा मुद्दा दायर गरेका हन्। मुद्दा दर्ता गर्ने अभियन्ताहरुमा अभास दास, महेश कुमार महासेठ, रमण कुमार यादव, विकास यादव र अनिष कुमार यादवसहित छन्।

दायर रिटमा गृहमन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ।

मुद्दा दर्तापछि अधिवक्ता साहले प्रशासनको यस स्वेच्छाचारी कदमविरुद्ध संलग्न अधिकारीहरूमाथि कडा विभागीय तथा फौजदारी कारबाही र पीडित विद्यार्थीहरूलाई उचित क्षतिपूर्ति दिलाउने मागसहित मुद्दा दायर गरिएको बताए।

उनले भने, ‘कानुन हातमा लिने कसैलाई छुट छैन, न्यायका लागि हाम्रो लडाइँ जारी रहनेछ!’

प्रशासनले तीन दिनअघिमात्र सिरहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लिएर परीक्षा हलभित्र प्रवेश गरेका विद्यार्थीहरूबाट खोसिएका ४९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेको थियो।

मंगलबारमात्रै शिक्षामन्त्री सस्मित पोखरेलले सिरहामा परीक्षाका क्रममा परीक्षार्थीबाट खोसिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिनु गैरकानुनी भएको बताएका थिए।