चौथो राष्ट्रिय पुरुष डोरीतान प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले शनिबार जितेको छ।

च्यासलमा शुक्रबार भएको फाइनलमा लुम्बिनीले एपीएफलाई पराजित गर्‍यो। फाइनलमा सशस्त्र प्रहरीलाई २–१ सेटको अन्तरले हराउँदै लुम्बिनी प्रदेशले राष्ट्रिय डोरी तानको चौथो संस्करणको उपाधि जितेको हो। सात वटा टिमको लिग चरणबाट छनोट भएका चार वटा टिममध्ये सेमिफाइनलमा सशस्त्र प्रहरीले कोशी प्रदेशलाई जितेको थियो भने लुम्बिनी प्रदेशले नेपाल प्रहरीलाई जितेर फाइनल प्रवेश गरेको थियो।

निकै नै रोमाञ्चक फाइनल खेल को पहिलो सेटमा लुम्बिनीले एपीएफलाई १ मिनेट ९ सेकेन्डमा आफूतर्फ तानेको थियो भने दोस्रो सेटमा सशस्त्र प्रहरीले लुम्बिनीलाई ४५ सेकेन्डमा आफूतर्फ तान्न सफल भएको थियो। पहिलो दुई सेट बराबर भएपछि उपाधिका लागि तेस्रो सेट खेलाइएको थियो। तेस्रो सेटमामा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरीलाई ५० सेकेन्डमा आफूतर्फ तानेर खेल जितेको जानकारी चिफ जज सन्तोष तामाङले दिए। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकार र सल्लाकार राजु सिंहलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे। दुई दिने प्रतियोगितामा ५ प्रदेश, नेपाल प्रहरी र एपीएफ गरी ७ टिम सहभागिता जनाएको आयोजक नेपाल डोरी तान संघका अध्यक्ष भवानीप्रसाद पौडेलले जनाएका छन्।