काठमाडौँ, २०८३ जेठ २० गते । औषधी आपूर्ति र व्यवस्थापनमा विद्यमान असहजता र त्यसको दिगो समाधानका सम्बन्धमा आज औषधी व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिबिच एक महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ।

बैठकमा मुख्य गरी बजारमा क्यान्सर विरुद्धको औषधी तथा ‘Immunosuppressant’ (प्रतिरक्षा प्रणालीलाई सन्तुलनमा राख्ने औषधी) लगायतका अत्यावश्यक औषधीहरूको आपूर्तिमा देखिएका समस्या र विभिन्‍न माध्यमबाट प्राप्त गुनासाहरूको वास्तविक अवस्थाबारे विस्तृत समीक्षा गर्दै तत्कालिन तथा दीर्घकालिन समाधानका उपायहरूबारे छलफल गरिएको थियो।

​छलफलका क्रममा औषधी आपूर्तिको अनुमति प्राप्त गरेर पनि समयमा आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूका कारण बजारमा असहजता थपिएको निष्कर्ष निकाल्दै, त्यस्ता गैरजिम्मेवार आयातकर्ताहरूलाई कसरी कानुनी दायरामा ल्याउने र आगामी दिनमा कुन प्रक्रियाबाट अगाडि बढ्ने भन्‍ने सम्बन्धमा सबै प्रकारका कानुनी विकल्पहरूमाथि गम्भीर विमर्श भएको छ।

​यसैगरी बजारमा जीवनरक्षक औषधी (Life saving drugs) को उपलब्धतालाई सहज र सुनिश्चित बनाउन बैठकले औषधी व्यवस्था विभागलाई विशेष निर्देशन दिएको छ। जसअन्तर्गत विभागले जीवनरक्षक औषधी आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, विगत ३ वर्षको आयातको कुल मात्रा, ती औषधीको हरेक वर्ष हुने वास्तविक खपतको विवरण र यस्ता औषधी आपूर्तिका लागि अनुमति माग गरी पेस हुन आएका नयाँ आपूर्तिकर्ताहरूको निवेदनको सम्पूर्ण विवरण तुरुन्त उपलब्ध गराउनुपर्नेछ।

​साथै, समग्र औषधी व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउनका लागि औषधी व्यवस्था विभागले प्रयोग गर्दै आएको सफ्टवेयरको सुधार तथा क्षमता विस्तार गर्ने र आम नागरिक एवं सरोकारवालाहरूलाई सही सूचना प्रदान गर्न विभागको वेबसाइटको विवरण नियमित रूपमा अद्यावधिक (Update) गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो। यस महत्त्वपूर्ण निर्णय र निर्देशनपछि बजारमा भइरहेको क्यान्सर तथा अन्य जीवनरक्षक औषधीहरूको अभाव हटी आपूर्ति प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ।