काठमाडौँ १७ जेष्ठ । पूर्वसचिव भिम उपाध्यायले नेपालको बजेट भाषण र देशको खस्कँदो प्रशासनिक प्रणालीमाथि कडा व्यङ्ग्य र टिप्पणी गर्नुभएको छ। विगत चार दशकको प्रशासनिक अनुभव र भोगाइलाई सार्वजनिक गर्दै उहाँले बजेटको नारा उत्कृष्ट हुने गरे पनि कमजोर सरकारी नीति र प्रणालीका कारण कार्यान्वयन पक्ष शून्य रहेको बताउनुभएको हो।

​सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्वसचिव उपाध्यायले भन्नुभएको छ, “मैले बजेट भाषण सुन्न थालेको २०४३ सालदेखि हो। आजसम्म ४० वटै बजेट भाषण सुनिसकेँ। सबै भाषण सुन्दा ‘आहा’ लाग्ने खालका थिए, तर देश कता पुग्यो? ती बजेट अनुसार देश बनेको भए सिंगापुर र स्विट्जरल्याण्डका मान्छेहरू आज नेपाल बसाइँ सरिसक्थे होलान्।” भाषण र नाराले मात्रै देश बन्ने भए कोही पनि काम नगरी उपरखुट्टी लगाएर बस्दा हुने अवस्था रहेको भन्दै उहाँले वर्तमान बजेटको ‘रातारात जादु गर्ने’ शैलीप्रति पनि आशङ्का व्यक्त गर्नुभएको छ।

​अर्थमन्त्रीको काम बजेटको दस्ताबेज प्रस्तुत गर्नु मात्रै भएको उल्लेख गर्दै उहाँले त्यसको वास्तविक कार्यान्वयन गर्ने जिम्मा अन्य मन्त्रालय र कर्मचारीतन्त्रको भएको प्रष्ट पार्नुभएको छ। तर, प्रशासनिक प्रणालीमा रहेका गम्भीर कमजोरीका कारण काम हुन नसकेको उहाँको ठहर छ। 

नियम-कानुन, आधुनिक प्रविधिको अभाव, आवश्यक प्रशिक्षण, साधन-स्रोत, न्यून पारिश्रमिक, र कर्मचारीमा उत्प्रेरणा नहुनु नै मुख्य समस्या रहेको उहाँले औंल्याउनुभएको छ।

​उपाध्यायले हालको सरकारी संयन्त्रमा काम गर्ने वातावरण नरहेको र कर्मचारीहरूमा डर पैदा गरिएको दाबी गर्नुभएको छ। “असल मनसायले काम गर्ने कर्मचारीको संरक्षण छैन। कार्यान्वयनमा कुनै जिम्मेवारी र जवाफदेही लिन नपर्ने सरकारी निकायहरूको अनावश्यक बोलबाला, हस्तक्षेप र दोषारोपण छ,” उहाँले भन्नुभएको छ, “काम गर्‍यो कि सरकारकै निकायले कर्मचारी फसाउने कुसंस्कृति र अख्तियारको अनावश्यक आतंकले गर्दा अहिले कोही पनि कर्मचारी निर्णय लिन चाहँदैनन्।”

​साढे तीन दशकभन्दा लामो समय कर्मचारीको भूमिकामा रहँदा आफूले यही तितो सत्य भोगेको बताउँदै उहाँले अहिलेको प्रशासनिक प्रणाली पहिलेको भन्दा झन् ‘कबाड’ र कमजोर बन्दै गएको गुनासो गर्नुभएको छ। राजनीतिक नेतृत्वले जहिले पनि भाषण मात्र गर्ने तर देशका परिपक्व एवं अनुभवी व्यक्तिहरू भने गुमनाम बस्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।

​अन्तमा, देशको पछिल्लो वातावरणप्रति चिन्ता व्यक्त गर्दै पूर्वसचिव उपाध्यायले नेपालमा बसेर इमानदारिताका साथ राष्ट्र सेवा गर्नु नै अहिले अभिशाप बन्दै गएको र यसमा केही मिडियाहरूले पनि नकारात्मक भूमिका खेलेको टिप्पणी गर्नुभएको छ।