भौगोलिक रूपमा विकट र स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको हिमाली जिल्ला मुगुमा शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चाको सफलतापूर्वक जन्म गराइएको छ।

​मुगुको छायानाथ रारा नगरपालिका-१३ थार्प निवासी एक गर्भवतीले जिल्ला अस्पताल मुगुमा जुम्ल्याहा छोराहरूलाई जन्म दिएकी हुन्।

३७ हप्ता पूरा भइ प्रसूति व्यथा लागेपछि अस्पताल आएकी उनी व्यथा लम्बिएर उच्च रक्तचाप भएपछि सामान्य प्रक्रियाबाट प्रसूति हुन नसकेपछि शल्यक्रिया मार्फत बच्चा निकालिएको हो।

​अस्पतालमा कार्यरत चिकित्सक डा. अभिषेक मिश्रको नेतृत्वमा रहेको टोलीले यो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। शल्यक्रियाको टोलीमा मिश्रसहित डा. पुष्पराज भाम, विकास न्यौपाने र नर्समा रिना रावत लगायत थिए।

अस्पताल प्रशासनका अनुसार अहिले आमा र दुवै नवजात शिशुको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य र सुरक्षित रहेका छन्।​

​मातृ तथा शिशु स्वास्थ्यका सूचकमा निकै पछाडि परेको मुगु जिल्लामा पछिल्लो समय यस्ता जटिल प्रसूति सेवा स्थानीय स्तरमै उपलब्ध हुन थालेपछि दुर्गमका महिलाहरूलाई ठूलो राहत मिलेको छ।

​यसअघि यस्ता जटिल प्रसूति केशहरूलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो। जसका कारण ​समयमा अस्पताल पुग्न नसक्ने, ​कतिपय अवस्थामा बाटोमै बच्चा जन्मिएर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने, ​गरिब तथा विपन्न नागरिकले चर्को खर्च व्यहोर्नुपर्ने अवस्था थियो।

स्थानीय स्तरमा स्वास्थ सेवामा सहजता हुन थालेपनि पूर्वाधारको अभावले अझै पनि चुनौती रहेको चिकित्सक बताउँछन्। विशेषगरी बिजुली बत्तीको अनियमितता र न्यून गुणस्तरीय औजारका कारण जटिल शल्यक्रियामा ठूलो समस्या उत्पन्न हुने चिकित्सकहरू बताउँछन्।

​’राष्ट्रिय प्रसारण लाइनमा निरन्तर भोल्टेज हाई-लो (उतारचढाव) भइरहने हुँदा हाम्रा अपरेशनका संवेदनशील उपकरणहरू जल्ने र बिग्रिने समस्या भइरहन्छ। यसले गर्दा यस्ता जटिल अपरेशनहरू गर्दा जतिबेला पनि जोखिम निम्तिन सक्छ,’ डा. पुष्पराजले भने।

​डा. भामले स्वास्थ्य क्षेत्रमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिँदै आगामी दिनमा राज्यले यस्ता आधारभूत समस्याको न्यूनीकरण गरी दुर्गमका जनताको स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सुरक्षित बनाउन संवेदनशीलता देखाउनु पर्ने बताए।