चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी टोलीको संयुक्त सक्रियतामा हत्या आरोपी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी सुवास भट्टका अनुसार २०७६ चैत २३ गते साँझ खैरहनी–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र मजदुर बस्ने कच्ची घरको कोठामा एक पुरुष मृत अवस्थामा फेला परेका थिए। मृतक बारा जिल्लाको साविक फेटा गाविस–४, हाल फेटा गाउँपालिका–३ निवासी ४६ वर्षीय सखिचन महरा रहेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले तत्काल अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा मृतकका सहकर्मी तत्कालीन ३० वर्षीय पुनदेव भनिने पञ्चदेब महराले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको थियो। आरोपी पञ्चदेब बारा जिल्लाको साविक बतरा गाविस–६, हाल फेटा गाउँपालिका–४ निवासी रहेको खुलेको थियो।

हत्या गरेलगत्तै फरार भएका उनीविरुद्ध चितवन जिल्ला अदालतबाट २०७६ चैत २५ गते नै पक्राउ पुर्जी जारी भएको थियो। तर, स्थान परिवर्तन गर्दै उनी लामो समयसम्म प्रहरीको पहुँच बाहिर रहँदै आएका थिए।

डीएसपी भट्टका अनुसार आरोपी हाल बारा जिल्लाको फेटा गाउँपालिका–१ स्थित त्रिवेणी टोल आसपास लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो। इलाका प्रहरी कार्यालय टाँडी र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले जेठ ५ गते साँझ त्रिवेणी टोलबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका महरालाई बिहीबार अदालतबाट म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय खैरहनीको न्यायिक हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।