आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र राजनीतिक सक्रियता तीव्र हुन थालेको छ। राजधानीमा सोमबार आयोजित नेताहरूको भेलाले पार्टीलाई एकताबद्ध बनाउँदै राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई स्पष्ट रूपमा अघि बढाउन सक्ने नेतृत्वलाई समर्थन गर्ने निष्कर्ष निकालेको छ।

नेता जगत गौचनको संयोजकत्वमा सम्पन्न भेलामा सहभागी नेताहरूले महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको वैचारिक दिशा तय गर्ने अवसर भएको धारणा राखेका थिए। उनीहरूले राजतन्त्र, हिन्दुत्व र राष्ट्रवादको मुद्दामा दृढ अडान राख्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

भेलापछि गौचनले पार्टीलाई विभाजनतर्फ होइन, एकढिक्का बनाउँदै महाधिवेशनमा लैजानुपर्ने आवश्यकता औँल्याए। उनले अहिले कुनै व्यक्तिको नाम सार्वजनिक रूपमा अघि नसारिए पनि “प्रखर राजावादी र राष्ट्रवादी छवि भएको नेतृत्व” निर्माणमा सहमति बनेको बताए।

बैठकमा करिब दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य तथा नेताहरूको सहभागिता रहेको जनाइएको छ। भेलामा नेता भरत रायमाझी, प्रकाशजङ्ग कार्की, प्रल्हाद शाह, मीनबहादुर शाही, गोपीचन्द्र शर्मा, केदार कोइराला र पूजा राणालगायत सहभागी थिए।

सहभागी नेताहरूले पार्टीभित्र युवापुस्ताका सक्रिय र स्पष्ट विचार भएका राजावादी नेताहरूलाई नेतृत्वको अग्रपङ्क्तिमा ल्याउनुपर्ने आवाज उठाएका थिए। उनीहरूको धारणा अनुसार अबको नेतृत्व केवल पदकेन्द्रित नभई पार्टीको मूल सिद्धान्त र जनभावनालाई गन्तव्यसम्म पुर्‍याउन सक्षम हुनुपर्छ।

राप्रपाभित्र महाधिवेशनको मिति छिट्टै घोषणा गर्न दबाब बढिरहेका बेला पार्टीले भने अहिलेसम्म औपचारिक मिति तय गर्न सकेको छैन। यसअघि जेठ १ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका तयार पार्न समिति गठन गर्ने निर्णय गरेको थियो।