व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ । सरकारी अधिकारीदेखि उच्चपदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव डा. घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नामसमेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिकाको नाममा पनि हिमालयन रि–इन्स्योरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट–अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दाबी छ ।

‘खासगरी भट्टका साझेदाहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ । प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुन न कुनै निकाय सक्रिय भएको बुझिन्छ,’ सम्पत्ति शुद्धीकरण विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन् । भट्टका अर्का साझेदार उपेन्द्र हिरावत पनि नेपालमा नभएको स्रोतको दाबी छ ।

हिरावत र भट्टको साझेदारीमा भारतको उत्तरपूर्वी पर्वतीय राज्य मिजोरममा औषधि उद्योगसमेत रहेको बताइएको छ । यो विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यद्यपि सिआइबीका कोही पनि अधिकारीहरू यसबारे बोल्न चाहन्नन् । ‘भारतको कोलकाता निवासी हिरावतसँग भट्टको साझेदारीमा एक औषधि उद्योग रहेको सूचना छ । यो विषयमा अनुसन्धान भइरहेको छ,’ सम्पत्ति शुद्धीकरणका एक अधिकारीले भने । उनका अनुसार सिआइबीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । सिआइबीका प्रवक्ता एसएसपी शिवबहादुर श्रेष्ठले अनुसन्धान भइरहेको विषयमा केही पनि जानकारी दिन नमिल्ने बताए । ‘अनुसन्धान जारी छ, सकिएपछि सबै कुरा बाहिर आइहाल्छ नि,’ प्रवक्ता श्रेष्ठले भने ।

२०८२ चैत १९ गते पक्राउ परेका भट्टको विषयमा धितोपत्र बोर्डले पनि अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । कम्पनी रजिस्ट्रारको २०७९ चैत २१ गतेको अभिलेखअनुसार वर्तमान अर्थ सचिव घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायका नाममा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता संस्थापक सेयर छ । दर्ता नं. ३०४३२०–७९र८० को सेयरवाला दर्ता किताबअनुसार उनी सातौं नम्बरमा संस्थापक सेयर धनीका रूपमा छिन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव डा. घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नामसमेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिको नाममा पनि हिमालयन रि–इन्स्योरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट–अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दाबी छ ।

यसअघि पनि दीपक भट्टसँग सम्बन्धित लगानी र कारोबारबारे अनुसन्धान भइरहेका बेला उच्च पदस्थ कर्मचारी र उनीहरूका परिवारको सम्भावित संलग्नताबारे प्रश्न उठ्दै आएको थियो । सोही क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरकी पत्नीको नाममा समेत सेयर रहेको विषय सार्वजनिक भएको थियो । अर्थ सचिव उपाध्यायले भने उक्त लगानी वैध भएको दाबी गरिसकेका छन् । उपाध्यायले गृह मन्त्रालयमा कार्यरत रहँदा कमाएको वैध आम्दानीबाटै पत्नीको नाममा पब्लिक कम्पनीमा सेयर खरिद गरिएको प्रस्टीकरण दिएका छन् । उक्त सेयर खरिदका लागि २०७९ माघ १९ गते एभरेस्ट बैंकको चेकमार्फत भुक्तानी गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पत्नीका नाममा सेयर रहेको स्वीकार गरेका छन् । धितोपत्रसम्बन्धी कानुन उल्लंघन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा रहेका विवादास्पद व्यवसायी भट्ट हाल प्रहरी हिरासतमा छन् । ठाकुर नै विभागको महानिर्देशक हुँदा भट्ट पक्राउ परेका थिए । अनुसन्धानकै क्रममा भट्टसँग सम्बन्धित हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा विभाग प्रमुखकी पत्नी राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर रहेको कागजात सार्वजनिक भएको थियो । यसका साथै अन्य कम्पनीहरूमा पनि सरकारी अधिकारीहरूको सेयर र संलग्नता रहेका कारण भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको स्रोतको दाबी छ ।

को को छन् सेयरधनी

कम्पनी रजिस्ट्रारको २०७९ चैत २१ गतेको अभिलेखअनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा कुल ४६ जना संस्थापक सेयरधनी छन् । उक्त सूचीमा पशुपति मुरारका, शिरीषकुमार मुरारका, बेनु अग्रवाल, राजेशकुमार अग्रवाल, सुवास आचार्य, विक्रम न्यौपाने, भगवती उपाध्याय सेयरधनी छन् । त्यस्तै सेन्ट्रम क्यापिटल प्रालि, सारथि क्यापिटल प्रालि, मोबिलोन ट्रेड इन्टरनेसनल प्रालि, रहिसा शाह (श्रेष्ठ), हुलास अटोक्राफ्ट प्रालि, बिजवल्र्ड एडभाइजरी प्रालि, लियान मोर्टस प्रालि, मीना श्रेष्ठ, जयप्रकाश अग्रवाल पनि सेयरधनी नै हुन् ।

यसैगरी अन्य सेयरधनीमा साक्षी वंशल (गुप्ता), आकाश गुप्ता, दीनानाथ खण्डलवाल, रिसव रुंगटा, नितु कयाल, प्रेम गुरुङ एन्ड ग्रुप प्रालि, लीला अग्रवाल, सुलोचना अग्रवाल, शरद गोल्छा, भरत गोल्छा, अभिज्ञान गोल्छा, प्रिन्टसेल इमेजिङ प्रालि, शुभम दुगड छन् । कृति अग्रवाल, अन्जु भट्ट, प्रविना दाहाल, उदयनारायण भट्टराई, सीता भट्ट, विकास अग्रवाल, मिठु कार्की पनि सेयरधनी हुन् । त्यस्तै शारदा रिजाल, प्रेरणा जोशी, करुणा तुलाधर, उज्वल अग्रवाल, ललिका गोल्याण, ममत भेटवाल, सदिक्षा रिमाल, एक्सप्लोर इन्टरनेशनल प्रालि, आयुषा कार्की र दीपक भट्ट सञ्चालक छन् ।