जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ।

वडाभित्रका जनप्रतिनिधि, कर्मचारी र समुदायले सामाजिक कुरीतिविरुद्ध साझा प्रतिबद्धता जनाएपछि आइतबार एक औपचारिक समारोहबीच सो घोषणा गरिएको हो।

तातोपानीका ८ वडामध्ये बालविवाह र महिनावारी विभेदमुक्त घोषणा हुने वडा नम्बर ५ पहिलो वडा बनेको छ। पूर्व भौतिक पूर्वाधार, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै चौलागाईले घोषणापत्रमा हस्ताक्षर गरी अभियानको सुरुवात गरे। उनले भौतिक पूर्वाधारको विकासले मात्र समाज रूपान्तरण नहुने उल्लेख गर्दै सामाजिक कुरीति अन्त्य हुनुपर्नेमा जोड दिए।

‘वर्षौंदेखि जरा गाडेर बसेको बालविवाह र महिनावारी विभेद न्यूनीकरणको अभ्यास तातोपानीबाट सुरु भएको छ,’ उनले भने, ‘अब यसको व्यवहारिक कार्यान्वयनमा सबैले ध्यान दिन जरुरी छ।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त मुलुक बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्न यस्ता स्थानीय अभियानले महत्त्वपूर्ण टेवा पुर्‍याउने बताए।

उनले नीति निर्माण मात्र पर्याप्त नभएको भन्दै कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

वडा अध्यक्ष छिरिङ महतले १५ वटा विभिन्न सूचकहरू पूरा गरेपछि वडालाई बालविवाह तथा महिनावारी विभेदमुक्त घोषणा गर्न सफल भएको जानकारी दिए।

उनले घोषणालाई सार्थक बनाउन अबका दिनमा सम्पूर्ण सरोकारवालाहरू थप जवाफदेही हुनुपर्ने स्पष्ट पारे।

कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौड्यालले बालविवाह गराउने, उक्साउने वा त्यस्ता विवाहको भोजभतेरमा सहभागी हुने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिए।

यस्तै, डिएसपी रबिन बाबु रेग्मीले बालविवाह गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको भन्दै सचेत रहन आग्रह गरे।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले क्रमशः अन्य वडाहरूलाई पनि बालविवाहमुक्त घोषणा गर्दै लैजाने योजना सुनाए।

उनले आर्थिक अभावका कारण बालविवाह गर्न बाध्य हुने परिवारको पहिचान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन पालिकाले विशेष सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

महिला तथा बालबालिका शाखाकी शान्ति सेजुवाका अनुसार विद्यालय, टोल र बस्तीस्तरमा निरन्तरको सचेतना कार्यक्रमपछि यो घोषणा सम्भव भएको हो। जुम्लाका ६० वडामध्ये हालसम्म १५ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन्।

सो वडाले ‘विवाह वारी, २० वर्ष पारी’ भन्ने सरकारी नारालाई व्यवहारमै लागू गर्ने संकल्प गरेको छ।