माघदेखि फुल्न सुरु हुने गुराँस वैशाख तेस्रो सातासम्म अधिकांश क्षेत्रमा झरिसकेको हुन्छ। बेँसी क्षेत्रमा माघको तेस्रो सातादेखि र पहाडी तथा हिमाली क्षेत्रमा जेठ दोस्रो सातासम्म फुल्ने गुराँसले प्राकृतिक सौन्दर्यसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आम्दानीको स्रोत बनेको छ।

हिमाली जिल्ला ताप्लेजुङका वनपाखामा प्रशस्त पाइने गुराँसले चैत–वैशाखमा राताम्य दृश्य सिर्जना गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ। गुराँस फुल्ने क्षेत्र आसपास पछिल्लो समय खाजाघर, चिया पसल र घरबास सञ्चालन बढ्दै गएपछि स्थानीयको आयआर्जनमा वृद्धि भएको छ।

ताप्लेजुङ एफएमका स्टेसन म्यानेजर देवराज गुरुङका अनुसार गुराँस फुल्ने पाखामा घरबास सञ्चालन र स्थानीय परिकार प्रवर्द्धनले व्यवसायिक सम्भावना बढाएको छ। उनले गुराँसका बोट संरक्षण र विस्तारमार्फत आन्तरिक पर्यटनलाई जोड दिँदै आएको र यस वर्ष राम्रो व्यापार भएको बताए।

जैविक विविधता क्षेत्रमा काम गर्दै आएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार पाथीभरा क्षेत्रमा २२ प्रजातिका गुराँस पाइन्छन्। चैत–वैशाखमा पाथीभरा मन्दिर जाने पदमार्ग गुराँसले ढाकिँदा तीर्थयात्री तथा पर्यटकको चाप बढ्ने गरेको छ।

पाथीभरा क्षेत्र होटल व्यवसायी सङ्घका अध्यक्ष इन्द्रनारायण श्रेष्ठका अनुसार गुराँस फुल्ने समयमा होटल व्यवसायीले राम्रो आम्दानी लिने गरेका छन्। ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल तीनजुरे–जलजले–मिल्के क्षेत्रमा ३२–३३ प्रजातिका गुराँस पाइन्छन्, जसलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ।

यस क्षेत्रका होटल व्यवसायी हरी खनालका अनुसार गुराँस फुल्ने समयमा तराईबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन्। तेह्रथुमको बसन्तपुर क्षेत्रमा गुराँसको जुस र रक्सी पनि लोकप्रिय छन्। मैवाखोला क्षेत्रको मिल्केमा पर्यटन मन्त्रालयमार्फत करिब ७ करोड रुपैयाँ लागतमा गुराँस पार्क निर्माण गरिएको छ।

वनस्पतिविद् केशवराज राजभण्डारीका अनुसार विश्वभर १,१५७ प्रजातिका गुराँस पाइन्छन्, जसमध्ये नेपालमा मात्रै ३३ प्रजाति रहेका छन्। नेपालको कुल वन क्षेत्रको करिब १० प्रतिशत भूभागमा गुराँस पाइने बताइन्छ। नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा पनि गुराँस पाइन्छ। रासस