१९ वैशाख, काठमाडौँ । ​पूर्व सचिव भिम उपाध्यायले नेपालका केही राजनीतिक दल र नेताहरूको शक्तिको स्रोत ‘नक्कली सुकुम्बासी’ को आवरणमा रहेका ‘हुकुमबासी’ बस्तीहरूमा लुकेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले वर्तमान राजनीतिक बेथिति र नदी किनारको अतिक्रमणलाई रामायणको रावण बधको प्रसङ्गसँग तुलना गर्नुभएको हो।

​उपाध्यायका अनुसार, जसरी रावणका १० वटा टाउका भए पनि उसको प्राण नाइँटोमा लुकेको थियो र विभिषणले सो रहस्य खोलेपछि मात्र रामले रावणको अन्त्य गर्न सफल भएका थिए, त्यसै गरी नेपालका ‘बामे’ र उनीहरूबाट संक्रमित अन्य नेताहरूको ‘प्राण’ पनि सार्वजनिक जमिन कब्जा गरी बसेका बस्तीहरूमा अडिएको छ।

​उहाँले ती बस्तीहरूलाई वास्तविक सुकुम्बासीको नभई ‘हुकुमबासी’ हरूको अखडा भएको आरोप लगाउनुभएको छ। “सार्वजनिक जमिन एवं नदी खोला किनार कब्जा गरी बसेका र वर्षको अर्बौँ भाडा असुल्ने हुकुमबासी बस्तीहरू नै यी नेताहरूको शक्तिको स्रोत हुन्,” उपाध्यायले भन्नुभएको छ।

​प्रधानमन्त्री बालेन्द शाह (बालेन)ले यो ‘राजनीतिक नाइँटो’ को रहस्य पत्ता लगाएको र अहिले उनले त्यहीँ अचुक बाण प्रहार गरिरहेको उहाँको तर्क छ। नदी किनारका अनधिकृत संरचना र अतिक्रमण हटाउने बालेनको अभियानले नेताहरूको शक्ति केन्द्रमा प्रहार गरेको र यसले अन्ततः राजनीतिक शुद्धीकरणमा मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो।

​अन्तमा, उपाध्यायले हुकुमबासीहरूको कब्जाबाट वास्तविक सुकुम्बासीहरू मुक्त नभएसम्म मुलुकमा सुशासन नआउने दाबी गर्नुभएको छ। उहाँका अनुसार यो ‘रावण राज्य’ को अन्त्य भएपछि मात्र सुकुम्बासीहरूका निम्ति सही अर्थमा ‘रामराज्य’ को आरम्भ हुनेछ।