कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाली टोलीले ब्याटिङ संकटको सामना गरिरहेको छ।

शृंखलाअन्तर्गत ओमान र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धका दुवै खेलले नेपाली ब्याटरहरूमा एकदिवसीय क्रिकेटलाई आवश्यक पर्ने धैर्यताको अभाव देखिएको छ।

घरेलु मैदान र हजारौं समर्थकको साथ हुँदाहुँदै पनि नेपालले ओमानसामु लज्जास्पद हार बेहोरेको छ भने युएईविरुद्धको जितमा पनि ब्याटिङतर्फको प्रदर्शन दयनीय रह्यो।

दुवै खेलमा शीर्ष र मध्यक्रम कमजोर बन्दा टोलीको सम्पूर्ण भार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले थेगे।

बुधबार भएको खेलमा नेपाल ओमानसँग डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा १०२ रनको फराकिलो अन्तरले पराजित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले नेपाली बलरहरूमाथि पूर्ण रूपमा हाबी हुँदै ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको विशाल योगफल खडा गरेको थियो।

ओमानका कप्तान जतिन्दर सिंहले ९६ बलमै १३० रनको सानदार शतकीय इनिङ्स खेल्दा नेपाली बलरहरू निरीह देखिएका थिए।

३०६ रनको पहाडजस्तो लक्ष्य पछ्याउने क्रममा नेपालको जवाफी ब्याटिङ सुरुदेखि नै धरापमा पर्‍यो। स्कोरबोर्डमा जम्मा १ रन हुँदा १.१ ओभरमै भरपर्दा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले कुनै पनि समय खेलमा फर्किने संकेत देखाएन।

अर्का ओपनर आसिफ शेख १९ रन बनाएर आउट भए भने कप्तान रोहित कुमार पौडेलले २३ बलको सामना गर्दै जम्मा १० रन जोडेर पेभेलियन फर्किए।

टोलीको स्कोर १५.३ ओभरमा ५४/३ को कमजोर अवस्थामा पुगेको थियो। त्यसपछि आएका बसिर अहमदले र भीम सार्कीले पनि लामो साझेदारी गर्न सकेनन्। बसिरले १ रन बनाउँदा सार्कीले २८ रनको योगदान दिए।

इनिङ्सको मध्यभागसम्म नपुग्दै २०.१ ओभरमा ७१ रन जोड्दा नेपालले महत्त्वपूर्ण ५ विकेट गुमाइसकेको थियो। वर्षाले खेल प्रभावित गर्नुअघि नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर जम्मा १५५ रन मात्र बनाउन सक्यो।

खेलपछि अनुभवी खेलाडी सोमपाल कामीले टोलीको ब्याटिङ योजना पूर्ण रूपमा असफल भएको स्वीकारे। ‘हामीले आज सोचेजस्तो ब्याटिङ गर्न सकेनौं। हाम्रो योजना पहिलो २० ओभरसम्म विकेट नगुमाउने थियो, तर विकेट बचाउने धुनमा हामीले रन पनि जोड्न सकेनौं र दबाबमा विकेट गयो,’ उनले भनेका थिए।

दीपेन्द्र : एक्ला लडाकु

शीर्ष क्रमका ब्याटरहरू क्रिजमा आउने र जाने गरिरहँदा नेपालको इज्जत जोगाउने एक्ला लडाकु दीपेन्द्र सिंह ऐरी मात्र देखिएका छन्।

ओमानविरुद्ध ७१ रनमा ५ विकेट गुमेको संकटपूर्ण अवस्थामा क्रिजमा आएका उनले ६२ बलमा ७ चौका र १ छक्कासहित ६० रनको महत्त्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई सय रनभन्दा तल समेटिनबाट जोगाए।

दीपेन्द्रले नेपालको उद्धार गरेको यस खेलमा मात्र होइन। गत शनिबार युएईविरुद्धको खेलमा पनि नेपाल एक समय २०.३ ओभरमा ९०/५ को दयनीय अवस्थामा पुगेको थियो।

त्यस कठिन परिस्थितिमा क्रिजमा आएर दीपेन्द्रले ९० बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ७५ रनको संयमित इनिङ्स खेले।

उनको त्यही संघर्षपूर्ण प्रदर्शन र अन्तिममा करण केसीले खेलेको २२ रनको उपयोगी इनिङ्सको मद्दतले नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २०० रनको सम्मानजनक योगफल तयार गरेको थियो।

युएईविरुद्धको खेलमा नेपालले ३७ रनको जित निकाले पनि ब्याटिङतर्फको हविगत ओमानविरुद्ध जस्तै रह्यो। युएईविरुद्ध ओपनर आसिफ शेख ७ रनमै आउट भए।

तेस्रो नम्बरमा आएका भीम सार्कीले जम्मा १० रन मात्र जोडे भने कप्तान रोहित पौडेल २ रनमै फर्किए। सुरुवात राम्रो गरेका कुशल भुर्तेल (२४ रन) र बसिर अहमद (२० रन) ले आफ्नो इनिङ्सलाई ठूलो स्कोरमा बदल्न सकेनन्।

त्यस खेलमा नेपाललाई हारबाट जोगाउने काम बलरहरूले गरेका थिए। २०१ रनको लक्ष्य पछ्याएको युएईलाई ४८.२ ओभरमा १६३ रनमै अलआउट गर्न करण केसीले उत्कृष्ट बलिङ गर्दै ९.२ ओभरमा जम्मा १९ रन खर्चेर ४ विकेट लिए।

सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदै युएईको इनिङ्स ध्वस्त पारे।

कप्तान रोहित पौडेलले टोलीको ब्याटिङ खराब रहेको स्वीकार्दै भनेका थिए, ‘हामीले युएईविरुद्ध ब्याटिङ राम्रो गर्न सकेनौं। अझ पहिलो १० ओभरमा त हाम्रो सुरुवात निकै खराब रह्यो।’

सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको मुख्य आधार मानिएको लिग-२ मा सहभागी ८ टोलीमध्ये नेपाल १४ अंकसहित सातौं स्थानमा संघर्ष गरिरहेको छ।

आफ्नै घरेलु मैदान, परिचित पिच र हजारौं दर्शकको हुटिङको फाइदा उठाउन नसक्ने हो भने नेपालको विश्वकप छनोटको यात्रा कठिन बन्नेछ।