पाटन (ललितपुर), ५ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको बताएका छन् ।

आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनद्वारा आज आज यहाँको गोदावरी नगरपालिका–४ बडिखेलमा आयोजित पाँचौँ पुरुष तथा महिला राष्ट्रव्यापी क्योकुशिनकाई कराते प्रतियोगितामा मन्त्री गुरुङले नेपालको भूगोलअनुसार मार्सल आर्टमा ध्यान दिने हो भने अन्तरराष्ट्रिय क्षेत्रमा धेरै सफलता हासिल गर्न सकिने बताएका हुन् ।

“खेलकुदलाई महत्व दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु, खेलकुदमा हामीले धेरै काम गर्न सक्छौँ, नेपालको गरिमा र प्रतिष्ठा कायम गर्न सक्छौँ, राष्ट्रिय स्वाभिमान कायम राख्न सक्छौँ”, उनले भने ।

उनले आगामी वर्षको नीति तथा कार्यक्रममा खेलकुदका पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्ने कुरालाई समेट्ने प्रयास गर्ने बताए । “विश्वस्तरमा हुने प्रतिस्पर्धामा भाग लिन सक्ने खेलाडी उत्पादनमा हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौं, खेल पूर्वाधारको पर्याप्त विकास गर्न नसक्दा हामी पछाडि परेका छौँ, त्यसलाई ध्यान दिने छौँ”, उनले भने ।