ललितपुर। पब्लिक नेपाल डेन्टल हस्पिटल तथा पोलिक्लिनिकले समाजसेवामूलक अभियानअन्तर्गत ललितपुरको दीपनगर समूह तथा विश्वेश्वर महादेव समूहसँगको सहकार्यमा निःशुल्क दन्त जाँच तथा स्वास्थ्य सेवा प्रदान गरेको छ।

यस कार्यक्रममा वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सरोज घिमिरे, डा. तमुना घिमिरे तथा अन्य सहकर्मी चिकित्सकहरूको टोलीले १ सय २० जना पुरुष, महिला तथा बालबालिकाको निःशुल्क दन्त परीक्षण गरेका छन्। साथै, सहभागीहरूलाई टुथपेस्ट, टुथब्रस तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ।

त्यसैगरी, उक्त कार्यक्रममा निःशुल्क रगत जाँच सेवा समेत प्रदान गरियो, जसअनुसार विभिन्न स्वास्थ्य रिपोर्टहरू परीक्षण गरी सहभागीहरूलाई जानकारी गराइयो।

दन्त स्वास्थ्यसम्बन्धी जनचेतना अभियान

कार्यक्रमका दौरान दन्त विशेषज्ञहरूले टुथब्रस गर्ने सही तरिका, ब्रस नगरेमा हुनसक्ने दाँत तथा गिजाको क्षति र किराले दाँत नखाओस् भन्न अपनाउनु पर्ने सतर्कता सम्बन्धी बिशेष जानकारी प्रदान गरे। दन्त रोग तथा मुख स्वास्थ्यलाई दीर्घकालीन रूपमा कसरी जोगाउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो।

विशेष छुटको व्यवस्था

उक्त पब्लिक नेपाल डेन्टल हस्पिटल एवं पोलिक्लिनिकले सेवाग्राहीहरूका लागि १० देखि २५% सम्मको छुट दिने घोषणा गरेको छ। उक्त घोषणा अनुसार दाँतको उपचारमा १०-२५% छुट, रगत परीक्षणमा १५-२०% छुट दिनुको साथै तार बाँध्ने, जराको उपचार, दाँत सफा गर्ने, दाँत उखेल्ने, तथा जटिल शल्यक्रियामा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।

आगमी दिनहरूमा पनि यस्ता समाजसेवामूलक स्वास्थ्य शिविर तथा सचेतना अभियानलाई निरन्तरता दिइने हस्पिटलका प्रतिनिधिले जानकारी दिएका छन ।