काठमाडौ । गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो थेयलले नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई नेपालमा आएको भीषण बाढी र पहिरोले गराएको आर्थिक तथा मानविय क्षति प्रति गहिरो समवेदना सन्देश पठाएका छन्।

परराष्ट्रमन्त्री छोले नेपालमा भर्खरै परेको अविरल वर्षा र बाढी पहिरोका कारण सैयौं व्यक्तिहरुले ज्यान गुमाएको दुःखद घटनाको बारेमा थाहा पाउँदा आफू स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्। साथै उन्ले मृतकहरु प्रति गहिरो समवेदनाका साथै शोकसन्तप्त परिवार र घाइतेहरु प्रति कोरिया सरकारको तर्फबाट सहानुभुती प्रकट गरेका छन्। त्यसैगरी नेपालको बाढीपीडितका लागिआवश्यकतामा आधारित भएर कोरिया सरकार र कोरियाली जनताले आफ्नो क्षमता अनुसार सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।

गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीमार्फत १० करोड कोरियन वोन (रु. एक करोड) उपलब्ध गराएको छ। रेडक्रसले २ अक्टोबरबाट राष्ट्रव्यापी सहयोग सङ्कलन अभियान पनि घोषणा गरेको छ। सङ्कलन भएको रकम नेपाल रेडक्रस सोसाइटीको माध्यमबाट विस्थापित व्यक्तिको आपत्कालीन राहत र प्रभावित क्षेत्रमा पुनःस्थापना कार्यमा खर्च गरिने उल्लेख गरेको छ।
नेपाल र गणतन्त्र कोरियाले दुई देशबीचको कूटनीतिक सम्बन्ध ५०औँ वर्षगाँठको अवसरमा यस वर्ष भरीनै विभिन्न कार्यक्रम आयोजना गर्नुका साथसाथै दुई देशका उच्च तहबाट बधाई सन्देश आदान-प्रदान गरेका छन्।
गतहप्ता नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले कोरियाका महामहिम राष्ट्रपति युन सख्यल र कोरियाली जनतालाई हार्दिक बधाई ज्ञापन गरेका छन्।
राष्ट्रपति पौडेलले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध पारस्परिक सम्मान र एकअर्काप्रतिको असीम सद्भावमा आधारित घनिष्ट र मैत्रीपूर्ण रहेको उल्लेख गरेका छन्। अर्ध शताब्दी पुरानो द्विपक्षीय सम्बन्धको यात्रामा सन्तोष व्यक्त गर्दै राष्ट्रपति पौडेलले ‘एभरेष्टिङ फ्रेन्डसिप’ भन्ने नाराले सार्थकता पाएको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले गणतन्त्र कोरिया र नेपालबीच बिगत देखिको विभिन्न क्षेत्रमा रहेको सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने उल्लेख गरे। गत हप्ता अक्टोबर ३ तारिख कोरियाली गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रपति युन सख्यललाई शुभकामना सन्देश पठाएर दुई देशको सम्वन्धलाई थप प्रगाढ बनाएका थिए।