काठमाडौ माघ २९, सरकार द्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( बिप्लव ) सहित साना ४ कम्युनिस्ट घटकले आज राजधानीमा एक कार्यक्रम गरि रणनैतिक सयुक्त मोर्चा गठन गरेका छन ।

आज गठन भएको संयुक्त मोर्चामा नेत्र बिक्रम चन्द ( बिप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी भएका छन ।

रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा मोहोन वैद्य, बिश्वभक्त दुलाल, ऋषिराम कट्टेल र सि पि गजुरेलको उपस्थिति थियो । कार्यक्रममा बिप्लव सहभागी नदेखिए पनि जारी बिज्ञप्तिमा बिप्लवको हस्ताक्षर रहेको छ ।

चार पार्टीबीचको संयुक्त मोर्चाको उद्देश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु रहेको मोर्चाले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको छ । मोर्चाको गठित केन्द्रिय समितिमा सिपी गजुरेल, सन्तोष बुढा, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार, रामसिंह सिरिश, नवीन रिमाल, अज महोम्मद, रामदुलार महत्तो, राजेश वान्तवा, पवनमान श्रेष्ठ र नबिनकुमार बिश्वकर्मा गरि हाल १२ जनाको नाम सार्वजनिक गरिएको छ ।

मोर्चाले तय गरेको पहिलो चरणको संघर्षका कार्यक्रमहरु फागुन ६ गते बुटवल, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने घोषणा समेत गरेको छ । पहिलो चरणका कार्यक्रम सम्पन्न भएपछि दोस्रो चरणमा सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।